नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह तीन दिन देशैभर वर्षा हुने

काठमाडौँ साउन १२।आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।

 

शनिबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ । साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

आइतबार दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक /दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । श्रावण १४ गते पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा बद्लीसहित वर्षा भइरहेको छ । काठमाडौँका कतिपय स्थानमा भारी वर्षा भएको छ । यद्यपी, दिनभरको वर्षाको विवरण मौसम पूर्वानुमान महाशाखाले साँझ राख्ने भएकाले अहिले देशका कुन क्षेत्रमा कति वर्षा भएको भनी रेकर्ड छैन ।

 

 

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँमा तीन दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङ र ओखलढुङगामा छ, सिमरामा १६, पोखरामा २५, दाङमा १४, नेपालगञ्जमा ३४, धनगढीमा ११ र डडेलधुरामा ३० मिलिमिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम तापक्रम २९ दशमलव पाँच र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।