बालिकाको हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगर बजार बन्द

 

फाइल तस्बिर

 

 

कञ्चनपुर, साउन १२ । बालिकाको हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले महिन्द्रनगर बजार बन्द गरेका छन् । भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको शव शुक्रबार उखुवारीमा भेटिएको थियो ।

 

शव फेला परेपछि हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले शनिबार महेन्द्रनगर बजार बन्द गरेका हुन् । शुक्रबार बालिकाको शव नगरपालिका–१८ निम्बुखेडास्थीत उखुबारीमा फेला परेपछि स्थानीय बासिन्दाले शुक्रबार देखिनै महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गर्दै आएका छन् । बजार क्षेत्रका विभिन्न ठाउँमा स्थानीय बासिन्दाले नारा जुलुससँगै टायर बालेर विरोध गरिरहेका छन्|

 

 

विरोध प्रर्दशनमा सहभागी रहेका सुरज पन्तलगायत दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताएका छन् । संकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिने र छाडने कार्य भइरहे पनि हालसम्म हत्यारा पत्ता लाग्न नसकेको उनले बताएका छन् |

 

 

‘हत्याराको खोजीका लागि प्रहरीको टोलीलाई खटाइ सकेका छौँ’ उनले भने, ’बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।’ उनले बालिकाका हत्यारालाई पत्ता लगाउन माग गर्दै पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा समेत स्थानिय बासिन्दाले अवरोध गरेको बताएका छन् ।

 

 

उनका अनसार शुक्रबार हत्यारा पत्ता लगाउनु पर्ने माग गर्दै गरेको प्रदर्शनमा स्थानीय आक्रोशित भएपछि झडप हुँदा दुईजना प्रहरी र एकजना प्रदर्शनकारी घाइते भएका थिए । बालिकाको हत्याको यहाँका राजनीतिक दल, मानवअधिकारवादी, नागरिक समाज र जनप्रतिनिधहरूले भत्र्सना गरेका छन् । दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।