सतर्क रहन आग्रह भारतको धौलीगंगाको बाँध खोलियो

सांकेतिक तस्बिर

बैतडी,साउन १३ । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगंगामा रहेको धौलीगंगा जलबिद्यृत परियोजना बाँध खोलिएको छ ।  बाँधमा पानीको मात्रा बढी भएकोले बाँध खुला गरेको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताएका छन् ।

बाधँबाट बढी मात्रामा पानी छोडिदा महाकालीमा बाढी आउँने खतरा हुने भएकोले नदी तटिय क्षेत्रका नागरीकलाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको छ ।  बाधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएको कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न भारत र नेपाल दुबै देशका स्थानिय प्रशासनले अनुरोध गरेका छन । उनले भने, ‘धौलीगंगावाट दार्चुला सदरमुकाम नदीको पानी पुग्न १ घण्टा लाग्छ,सदरमुकामवासीले सबैभन्दा बढी सतर्क रहनुपर्छ ।

धौलीगंगा जलविद्यत परियोजना छिरकिल्ला बाधँमा पानीको मात्रा अत्याधिक भएको कारणले शनिबार राति ९ः३० बजेदेखि बाँधको ढोका खोलिएको बताइएको छ । दार्चुलाको ब्यास, दुहु, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकाका महाकाली नदी तटिय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीयलाई सुरक्षित भएर बस्न एवं पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।

पछिल्लो समय बाधँ खोल्ने समयबारे जानकारी गराउनथालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ ।  केहि दिन पहिले दार्चुलामा सम्पन्न नेपाल भारतका जिल्ला अधिकारीहरुको बैठकमा बाधँको पानी छाड्ने समयबारे जानकारी अर्थात सूचना आदानप्रदान गर्ने सहमति भएको थियो । यस बर्षमात्रै धौलीगंगाको बाँध ३ पटक खोलिएको छ ।

धौलीगंगा जलविद्युत परियोजनाको क्षमता २८० मेगावाट रहेको छ । वि स २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति गरेको थियो ।