चिकित्सा शिक्षा विधेयकमाथिको संशोधन बहुमतले पारित

काठमाडौं साउन१४। चिकित्सा शिक्षा विधेयकमा डा.गोविन्द केसीका माग समेट्नेगरी सरकारले राखेको संशोधन प्रस्ताव संसदले अनुमोदन गरेको छ।

 

आइतबारको संसद बैठकबाट संशोधन प्रस्ताव बहुमतले स्वीकृत भएको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक संशोधनबारे सदनलाई जानकारी गराएका थिए। संशोधन प्रस्तावमाथिको छलफलमा ११ जना सांसद सहभागी भएका थिए।

 

‘छलफलमा उठेका विषयमध्ये कतिपय संशोधनको प्रक्रियामा रहेर समावेश गर्न सकिन्छ’, सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले भने, ‘बोलीचालीमा चिकित्सा शिक्षा विधेयक भनिए पनि यसले स्वास्थ्य सेवाका विभिन्न विधालाई समेट्छ। हामी संशोधनको प्रक्रियामा जाँदा बुँदागत छलफल गर्नेछौं।

 

स्वास्थ्य शिक्षामा देखापरेका विकृति र विसंगति रोक्न गुणमा आधारित शिक्षाबाट मात्र सम्भव हुने उनले बताए। नियमनको एकद्वार प्रणाली स्थापना गरेर यसलाई समाधान गरिने मन्त्री पाखेरेलले जनाए।

 

माथेमा कार्यदलको भावनाअनुसार चिकित्सा शिक्षा विधेयक आउनुपर्ने माग गर्दै डा।केसी जुम्ला गएर १५ औं अनसन बसेका थिए। डा. केसीको सत्याग्रह २७ औं दिनमा पुगेको अवस्थामा गत बिहीबार राति सरकारले २२ बुँदे लिखित सम्झौता गरेको थियो।