सूचनामा सजग प्रधानमन्त्री ओली
काठमाडौं, साउन १५ । ललितपुरको कुपन्डोलमा गत शनिबार नेकपा गठनपछि पहिलोपटक जनवर्गीय संगठन इन्जिनियर एसोसिएसनको एकता घोषणा कार्यक्रम हुँदै थियो । कार्यक्रममा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल उपस्थित हुने सूचना थियो । कार्यक्रम निर्धारित समयमै सुरु भए पनि पार्टी अध्यक्षहरुको आगमनमा ढिलो भइसकेको थियो ।
कार्यक्रममा ढिलो गरी अध्यक्ष दाहाल आए । अन्य वक्ताले बोलिसकेर दाहालले पनि आफ्नो भाषण सकिसक्दा समेत ओली आइपुगेनन् । ओली नआउने ठानेर दाहालले आफ्नो भाषण अन्त्य गर्दै थिए । त्यत्तिकैमा प्रधानमन्त्री ओली आउने सूचना सञ्चालकले दाहाललाई सुनाए र भाषण लम्ब्याउन आग्रह गरे।
दाहालले भने एकपटक भाषण टुंग्याएपछि पुनः निरन्तरता दिन गाह्रो हुने भन्दै नाचगान वा चुटकिला सुनाएर कार्यक्रम लम्ब्याउन सञ्चालकलाई आग्रह गरे । करिब पाँच मिनेटपछि प्रधानमन्त्री ओली आइपुगे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले दाहालको कुरालाई हुबहु दोहोर्याए । ‘म बागबजारमा आउँदै थिएँ, प्रचण्डज्यूले एकपटक भाषण अन्त्य गरिसकेपछि पुनः निरन्तरता दिन कठिन हुन्छ भन्दै चुटकिला सुनाउन आग्रह गर्नुभयो, उहाँको भाषण सकिनेबित्तिकै म पनि आइपुगें,’ ओलीले भने । उनको कुरा सुनेर हल हाँसोले गुन्जियो।
सूचना र प्रविधिको युगमा दाहालको भनाइ ओलीले सुन्नु सामान्य कुरा हो । तर ओलीको भनाइको आशय दाहालको भनाइ सुनेको भन्दा पनि आफू सबैतिरको सूचनामा अद्यावधिक छु भन्ने थियो । प्रधानमन्त्रीको सिटमा बसेको व्यक्तिले को कहाँ के बोलिरहेको छ वा के गरिरहेको छ भन्ने कुरा तत्कालै जानकारीमा राख्नु आफैंमा महत्वपूर्ण विषय हो।यो एउटा प्रतिनिधि घटनामात्र हो । प्रधानमन्त्री हुनुभन्दा पहिले वाम गठबन्धनका उम्मेदवारले निर्वाचनमा सफलता हात पारेको सूचना सबैभन्दा पहिले ओलीले ट्विटरमार्फत सार्वजनिक गर्थे र बधाई पनि दिन्थे ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार ओली कहाँ के भइरहेको छ भन्ने थाहा पाउन आफैं सक्रिय हुने गर्छन् । ‘प्रधानमन्त्रीज्यू हरेक क्षण सक्रिय हुने गर्नुहुन्छ । सूचनाको स्रोतलाई राम्रोसँग प्रयोग गर्ने बानीले नै उहाँ हरेक घटना र विषयप्रति जानकार हुनुुहुन्छ,’ अर्यालले भने। नागरिक दैनिकबाट