सुन निलेपछि के भयाे पढ्नुहाेस्

 

काठमाडौं सउन१५। इटहरी २ का ३१ वर्षीय सुरजकुमार नेपाल शुक्रबार विराटनगर आइपुगे । उनी बेलुका विराटनगर–९ स्थित राठी ज्वेलरी हाउसमा प्रवेश गरे ।

 

पसलेलाई सुनको सिक्री देखाउन उनले भनेपछि पसलेले १ तोलाको सुनको सिक्री हेर्न दिएको थियो।सुरजले सिक्री लगाएर ऐनामा हेर्ने भने र सोही अनुसार उनले सिक्री लगाए र एकछिनमा मन नपरेको भन्दै पसलेलाई फर्काए। सुनका पारखी सुन पसलेको हातमा सिक्री पर्ने बित्तिकै शंका लाग्यो।

 

उनले तत्काल यो सिक्री नक्कली भएकोले असली सिक्री सुरजसँग माग्न थाल्यो तर उनले आफूले लिएको त्यही सिक्री भएको दाबी गरिरहे। निकै बेर विवाद चलेपछि ज्वेलर्सका सञ्चालक अरुण राठीले प्रहरीलाई जानकारी गराए।

 

प्रहरीले सुरजको शरीर पूर्ण रुपमा चेकजाँच गर्दा पनि कत्तै सक्कली सुनको सिक्री फेला पर्न सकेनन्। प्रहरीले पसलमा लगाइएको सीसी क्यामेराको रेकर्ड हेरेर पनि असली सिक्री पत्तो लगाउन सकेनन्।

 

सक्कली सुन पत्ता नलागेपछि सुरजको शरीर एक्स–रे गरेर हेर्ने निशकर्षमा प्रहरी र राठी पुगे। एक्स–रे गरेपछि उनको पेटमा धातु रहेको देखिएपछि मात्रै सक्कली सुनको सिक्री निलेको रहस्य खुलेको थियो। प्रहरीले सुरजलाई नियन्त्रणमा लिएर कोशी अञ्चल अस्पतालको आकश्मिक कक्षमा भर्ना गराए। प्रहरीले २४ औं घण्टा उनलाई रुँगेर बसे। कति बेला दिसा गर्छ भनेर।

 

उनलाई अस्पतालभित्र छुट्टै दिसा गर्न लगाएर दैनिक सुन खोज्न लगाउने गरेको थियो। आइतबारसम्ममा दिसामा सुन ननिक्लेपछि प्रहरी पूनस् एक्स–रे गराएर हेरेपछि सुन तल आएको पाइएको जिल्ला प्रहरी मोरङले जनायो।

 

चिकित्सकले सुरजलाई अस्पतालको शैयामा बस्न नदिई राम्ररी खानेकुरा र पानी खान दिन र घुमफिर गराउन प्रहरीलाई सल्लाह दिएको थियो। प्रहरी उपरीक्षक मनोज केसीले सोमबार बिहान ८ बजे सुरजले दिसा गरेपछि खाएको सिक्री तीन दिनपछि निस्केको बताए।

 

सुन हात पार्न प्रहरीले शुक्रबारदेखि सोमबार बिहानसम्म अस्पतालमा प्रहरीले सुरजले कति बेला दिसा गर्छ सुन निस्किन्छ भनेर रुँगेर बसेको थियो। ‘उनलाई चोरी मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘यसअघि उनीमाथि मुद्दा चलाउने प्रमाण नै थिएन तर अब सिक्री निस्किसकेपछि प्रयाप्त प्रमाण पुगेको छ।

 

ज्वेलर्सका सञ्चालक राठीले ग्राहक बनेर यसरी सुन चोरेको यो पहिलो घटना भएको बताए। उनले सीसी क्यामेरालाई पनि छलेर सिक्री निल्नु चानचुने कुरो नभएको बताए। प्रहरी उपरीक्षक केसीले सुन चोरी गर्ने योजना काइदाको बनाएको बताए। यसरी यति लामो सुनको सिक्री मुखमा निल्नु भनेको चानचुने विषय नभएको उनले बताए। कान्तिपुर दैनिकमा समाचार छ।