यस्तो छ आज तयारी सुनुवाइ समितिको बैठकमा

  काठमाडौं, साउन १६ । संसदीय सुनवाइ समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ दलका सांसदहरुले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्विकृत गर्ने तयारी गरेका छन् । माथिल्लो आदेश बमोजिम उनीहरुले जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेका हुन् ।

 

जोशीको शैक्षिक प्रमाणपत्र अर्कैको नाममा देखिएको, जन्म मिति समेत फरक परेको, उनले गरेका विभिन्न फैसलामा त्रुटी भेटिएको, तत्कालिन प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले उनलाई सर्वोच्चको न्यायाधीश बनाउन नहुने मत दिएको लगायतका कारण देखाउँदै जोशीको नाम अनुमोदन नगर्ने तयारी भएको हो ।

 

समितिको आज बस्ने बैठकमा सकेसम्म कांग्रेसका सदस्यहरुको समेत सहमतिमा सर्वसहमत रुपमा अस्विकार गर्ने नभएमा दुईतिहाइ मतको प्रयोग गरेर भएपनि जोशीको नाम अस्विकृत गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

 

 

जोशीले समितिमा बुझाएको प्रवेशिका परिक्षाको प्रमाणपत्रको विवरण परिक्षा नियन्त्रण कार्यालय र विजय मेमोरियल स्कूलसंग मेल नखाएको पाइएको छ भने आफ्नो भनि दाबी गरेको सिम्बोल नम्बर ३६६७ मा अर्कै परिक्षार्थी हिमबहादुर लेकालीको नाम रहेको भेटिएको छ । उनको शैक्षिक प्रमाणपत्र विवादको घेरामा पर्नुका साथै उनको कार्यशैली प्रति पनि सत्तारुढ दल असन्तुष्ट देखिएको छ ।

यस्तो छ अंकगणित

राजपाबाट प्रतिनिधित्व गर्ने लक्ष्मणलाल कर्ण ज्येष्ठताका आधारमा समितिको सभापति छन् । उनले मत विभाजनको अवस्था आएमा मात्रै मताधिकारको प्रयोग गर्न पाउनेछन् । यसरी हेर्दा सत्तापक्ष दलका सदस्यको सहजै दुई तिहाई मत पुग्ने अवस्था छ ।

 

१५ सदस्यीय समितिमा नेकपाका ९ सदस्य छन् भने सत्तापक्ष दल संघिय समाजवादी फोरमबाट १ सदस्य छन् । नेपाली कांग्रेसका ४ र राजपाबाट १ जना सदस्य समितिमा छन् ।