शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल पद छ, काम छैन

काठमाडौं, साउन १७ । सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि फर्कियो ।

 

साउन १ गतदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल, टेकनारायण पाण्डे, दीपक शर्मा र चूडामणि पौडेललाई उपमहानिर्देशकको जिम्मा दिइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवलाई उपमहानिर्देशकको पत्र दिए तापनि के काम गर्ने तोकिएको छैन । ‘हामीले पद त पायौं तर काम पाएका छैनौं’, एक उपमहानिर्देशकले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यस्तो अवस्थामा कसरी काम गर्ने ?’

 

उपमहानिर्देशक मात्रै होइन, केही उपसचिवलाई निर्देशकको समेत जिम्मेवारी दिइएको छ । लगातार पद बाँड्दै पत्र बुझाउने मन्त्रालयले काम नदिँदा अहिले नयाँ गठन भएको केन्द्र भद्रगोल छ । कुन कार्यालयका कर्मचारीले के काम गर्ने अन्योलमा छ ।

 

साउन २ गते महानिर्देशकको जिम्मा पाउनुभएका बाबुराम पौडेलले काम गर्न सक्नुभएको छैन । महानिर्देशक पौडेलले आफूले नयाँ संरचनाअनुसार काम गरिरहेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो– ‘महानिर्देशकको जिम्मा पाएपछि शाखा, प्रशाखा मिलाउने, कर्मचारी व्यवस्थापन गर्ने, आगामी वर्षको कार्यायोजना बनाउने काम गरिरहेको छु ।’ उहाँलाई साथ दिने महाशाखाका सहसचिवलाई हालसम्म कुनै जिम्मा दिन नसकेको अवस्थामा के काम गर्ने भन्ने विषय भने अन्योल छ ।

 

केन्द्रको संगठन संरचनाअनुसार केन्द्रमा ३ महाशाखा र १७ शाखा छन् । हाल गठन भएको केन्द्रको नयाँ संरचनाअन्तर्गत शैक्षिक योजना तथा विकास महाशाखा, शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा र मानव संशाधन विकास महाशाखा छन् ।

 

शैक्षिक योजना तथा विकास महाशाखाअन्तर्गत योजना तथा अनुगमन, प्रारम्भिक बालविकास, विद्यालय शिक्षा मापदण्ड निर्धारण, शैक्षिक सूचना व्यवस्थापन र शासकीय सुधार गरी ६ शाखा छन् ।

 

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखाअन्तर्गत पाठ्यक्रम तथा सामग्री, श्रव्यदृश्य, शैक्षिक प्रविधि, अनौपचारिक तथा वैकल्पिक शिक्षा र समावेशी गरी ५ शाखा छन् । त्यस्तै मानव संशाधन विकास महाशाखाअन्तर्गत शैक्षिक व्यवस्थापन तालिम, शिक्षक तालिम, अनुसन्धान तथा गुणस्तर सुधार, आर्थिक प्रशासन, आन्तरिक प्रशासन र सूचना प्रविधि तथा पुस्तकालय गरी ६ शाखा छन् ।

 

केन्द्रमा सहसचिव मात्रै होइन उपसचिव पनि कामविहीन भएका छन् । दुई महिनादेखि कामविहीन भएका ५१ जना उपसचिव हाजिर गर्दै फर्किदै गरेका छन् । त्यसमा फेरि ४५ उपसचिव थपिएका छन् ।

 

तत्कालीन अनौपचारिक शिक्षा केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र र शिक्षा विभागमा कार्यरत ती उपसचिवको अवस्था त्यस्तै छ । सरकारले विभागमा थोपरेका उपसचिवलाई कुनै पनि जिम्मेवारी दिन नसकेको अवस्थामा ४५ उपसचिव थपिँदा अहिले नयाँ गठन भएको केन्द्रमा कर्मचारीको बिचल्ली छ ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल १ सय ९३ उपसचिवको दरबन्दी स्वीकृत गरेको छ । बाँकी रहेको झन्डै २ सय उपसचिवलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषय गम्भीर बन्दै गएको छ । उपमहानिर्देशकहरुलाई तत्काल महाशाखामा खटाउनुपर्ने मन्त्रालयले उपमहानिर्देशकको पत्र थामाएर जिम्मेवारी नदिँदा शिक्षाको मुख्य निकायको अवस्था दयनीय बनेको छ । नेपाल समाचारपत्रबाट