निर्मला पन्तको हत्यामा संग्लन दुईजना पक्राउ

 

काठमाडौंं साउन १७। गृहमन्त्री रामबहादुर थापाले मुलुकमा भइरहेका आपराधिक घटनाबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले बलात्कारलगायतका आपराधिक घटनाबारे सरकारको जवाफ मागेपछि गृहमन्त्री थापाले आज प्रतिनिधिसभा बैठकलाई जानकारी दिएका हुन् ।

 

कन्चनपुरको भिमदत्त नगरपालिका २ की १३ वषीया निर्मला पन्तको हत्याबारे अनुसन्धान भइरहेको जानकारी गराएका गृहमन्त्री थापाले उनको पोष्टमार्टमको रिपोर्टमा घाँटी थिचेर हत्या गरिएको देखिएको बताए । निर्मलाको हत्या आरोपमा जीवन घर्तीमगर र दीपक मेघीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।मुलुकका विभिन्न स्थानमा भएका आपराधिक घटनाको कारण भारतसँगको खुला सिमाना, जथभावी घरेलु मदिराको विक्री तथा लागू औषध रहेको गृहमन्त्री थापाले बताए ।

 

मुलुकलाई विखण्ड गर्न चाहने तत्वले अस्थिरता ल्याउन खोजेको, तर सरकारले यसलाई रोक्ने गृहमन्त्री थापाको भनाइ छ । सांसद् निरुदेवी पाललाई बन्धुक देखाएर धम्की दिने व्यक्तिकाबारे अनुसन्धान भइरहेको बताएका उनले यसरी सांसद्माथि नै धम्की आउनु दुखद् भएको बताए ।