राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश

 

जलेश्वर, साउन १८ । विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ ।

उच्च अदालतबाट प्रदेश सरकारका एक राज्यमन्त्रीसमेतलाई पक्राउ गर्न प्रहरीलाई परमादेश भएपछि विवाद अझ चुलिने खतरा बढेको हो । उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमनबहादुर विक हत्याका आरोपितलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा उक्त कार्यालयका प्रमुखका नाममा मंगलबार परमादेश जारी गरेको छ ।

 

जिल्ला अदालतको आदेशलाई बेवास्ता गर्दै महोत्तरी प्रहरीले आरोपितलाई पक्राउ गर्न आलटाल गरेको भन्दै मृतककी श्रीमती शोभा गहतराजले चार महिनाअघि उच्च अदालत जनकपुरमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर सुनुवाइ गर्दै न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले मंगलबार जिल्ला प्रहरी कार्यालय र उक्त कार्यालयका प्रमुखका नाममा आरोपितलाई पक्राउ गर्न परमादेश जारी गरेको हो।

 

मधेश आन्दोलन क्रममा २०७२ भदौ २५ मा आन्दोलनकारीले महोत्तरीको जलेश्वरस्थित सशस्त्र प्रहरीको जलसागर गणमा कार्यरत असई विकको हत्या गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दाजु प्रेमबहादुर विकले असोज १ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा २८ जनाको नाम किटेरै जाहेरी दर्ता गराएका थिए । सोही जाहेरी आधारमा जिल्ला अदालतले आरोपितलाई बयानका लागि पेस गर्न आदेश गरेको थियो । २८ जनामध्ये प्रहरीले अहिलेसम्म तीनजनालाई पक्राउ गरेको छ । तीमध्ये सञ्जय साह र प्रमोद साह पुर्पक्षका लागि कारागारमा छन् भने मोहन ठाकुर तारेखमा छन् । अन्य आरोपित फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको छैन । -नागरिक दैनिकबाट