सशस्त्रमा स्टाफ कोर्ष प्रवेश परीक्षामा दुई एसपी फेल

 काठमाडौं, साउन १८ । सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन् ।

 

सशस्त्र प्रहरी उपरीक्षकद्वय कृष्ण ढकाल र मनिष थापाको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको हो । ढकाल सिसुका मोरङ र थापा सिसुका रौतहटका प्रमुखका रुपमा कार्यरत छन् । सिसं १ कै विनोद श्रेष्ठ र प्रकाश थापाको स्टाफ कलेज यात्रामा पनि ‘ब्रेक’ लागिसकेको छ ।

 

सशस्त्रमा तीन पटक स्टाफ कोर्षको प्रवेश परीक्षा दिन पाउने व्यवस्था भएपनि अन्तिम पटक भन्दै मनिषलाई चौथो पटकका लागि मौका दिइएको थियो । तर, लगातार चौथो पटक परीक्षा दिँदा पनि वृत्तिविकासका लागि फलामे ढोका मानिएको स्टाफ कोर्षको प्रवेश परीक्षामै उनी उत्तीर्ण हुन् सकेनन् । स्टाफ कलेज अध्ययन गर्न नसक्ने उनीहरु अब बढीमा एसएसपी मात्रै बन्न सक्नेछन् । सशस्त्रमा डीआईजीका लागि स्टाफ कोर्ष गरेकै हुनुपर्छ । स्टाफ कलेज उत्तीर्ण गरेकालाई स्नातकोत्तरको मान्यता दिइएको छ ।

 

सिसं १ का सबै ९ जना गत जेठमा एसपीमा बढुवा भएका थिए । बढुवा गर्दा स्टाफ कलेज उत्तीर्ण गरेका पाँच जनापछि मात्रै स्टाफ कलेज नगरेकाको नाम राखिएको थियो ।

 

चौथो समुहको यो प्रवेश परीक्षामा दुई एसपी र २८ नायव उपरीक्षक (डीएसपी) सहित ३० जनाले परीक्षा दिएका थिए । परीक्षामा १२ जना मात्र उत्तीर्ण भएका छन् ।

 

यो पटक स्टाफ कोर्ष परीक्षामा उत्तीर्ण हुने सशस्त्र प्रहरी नायव उपरीक्षकहरुमा अरुणकुमार सिंह, गगन श्रेष्ठ, होमनाथ पन्थी, किरण ढुंगाना, महेश अधिकारी, महेश केसी, नरेन्द्र बम, रवीन्द्र श्रेष्ठ, राजु श्रेष्ठ, रामकृष्ण महर्जन, सुरेश सापकोटा र सूर्यबहादुर सेन रहेका छन् । स्टाफ कोर्ष प्रवेश परीक्षामा उत्तीर्ण हुने सबै सिसं २ र सिसं ४ का मात्र छन् । सिसं १ र ३ का कोही पनि उत्तीर्ण हुन सकेनन् ।

 

यो पटकको प्रवेश परीक्षामा तेस्रो नम्बरमा नाम निकाल्न सफल पन्थी डेढ महिनाअघि मात्र डीएसपीमा बढुवा भएका हुन् । सिसं ४ का उनीसँगै डेढ महिनाअघि बढुवा भएका अमितकुमार सिंह भने अनुत्तीर्ण भए ।

 

सिसं २ का सुभाष भण्डारी, विनोद केसी, रमेश थापा, प्रदीप कार्की पनि अनुत्तीर्ण भए । सिसं ३ का सन्तोष रायमाझी पनि उत्तीर्ण हुन सकेनन् । आजको राजधानी दैनिकबाट।