दरबार हाइस्कूलको पुर्ननिर्माण सुरु भूकम्प गएको तीन वर्षपछि

  काठमाडौं साउन १८। २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भानु माध्यमिक विद्यालय (दरबार हाईस्कुल) को पुर्ननिर्माण सुरु गरिएको छ। चीनको सहयोगमा पुर्ननिर्माण गर्न लागिएको विद्यालयको शुक्रवार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

 

विद्यालय पुर्ननिर्माणको शिलान्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धारित डिजाइनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुने विश्वास व्यक्त गरे।

भूकम्पपछिको भौतिक संरचना पुर्ननिर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुर्ननिर्माणका आयोजनामा अर्थ मन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच सम्झौता भएको थियो। सोही सम्झौता अनुसार दरबार हाई स्कुलको पुर्ननिर्माण चीनले गर्न लागेको हो।