कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलि आइतबारबाट विदा बस्ने

काठमाडौं १९ साउन। कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलि आइतबारबाट विदा बस्ने हुनुभएको छ ।

 

संसदीय सुनुवाई विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । जोशीले भने राजीनामा नदिने अडान लिएपनि भोलिबाट विदा बस्ने तयारीमा हुनुहुन्छ ।

 

उहाले आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराउने तयारी गरेको बताइएको छ ।

 

जोशी तत्कालका लागि विदामा बस्न लागेको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । अब अर्का वरिष्ठतम न्याधिस ओमप्रकाश मिश्रले सर्वोच्चको पेशी तोक्नुहुने छ ।

 

यसैबीच जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।

 

संसदीय सुनुवाई विशेष समितिले शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको लगायतका कारण देखाउँदै प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेपछि जोशीले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गर्नुभयो ।

 

सुनुवाईका क्रममा आफूले समितिसमक्ष शैक्षिक प्रमाणपत्रहरु पेश गरेको तर, आधिकारिक निकायबाट अध्ययन अनुसन्धान नै नगरी धारणा बनाउँदा आफू अन्यायमा परेको भन्दै उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘मेरा प्रमाणपत्रबारे स्वतन्त्र निकायबाट छानविन गरी सत्य पत्ता लगाउन संवैधानिक परिषद् र सरकारबाट उचित कदम चालिनेछ भन्ने अपेक्षा सार्वजनिक गरेको छु ।

 

उहाँले भन्नुभएको छ , यसलाई मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाई आफ्नो अभिष्ट पूरा गर्ने तत्वहरु सक्रिय भएको चरम अवस्थाको रुपमा समेत बुझेको छु ।

 

आफूले परीक्षा दिएको परीक्षा बोर्डबाट रुजु नै नगरी हचुवाको भरमा चर्चा गरिएको र त्यसको आधारमा धारणा बनाउँदा आफूसँगै बोर्ड र न्यायपालिकाकै मानमर्दन भएको जोशीको भनाई छ ।

 

आफूले प्रवेशिका परीक्षा दिँदा दुई वटा छुटटा छट्टै बोर्ड रहेको तथ्यलाई नजरअन्दाज गरिएको उहाँले गुनासो गर्नुभयो ।

 

न्यायपालिकाको नेतृत्व गर्ने सन्दर्भमा आफूले पेश गरेको कार्ययोजना, दृष्टिकोण र रणनीतिलाई समेत सुनुवाई समितिले नजरअन्दाज गरेको भन्दै जोशीले भनेका छन्, ‘पूर्व्निर्धा्रित योजनाकै आधारमा निष्कर्ष निकालिएको समेत मेरो बुझाई छ ।’ बिज्ञप्तीमा भनिएको छ ।

 

पुनरावेदन अदालतमा २२ बर्ष र सर्वाेच्चमा चार बर्ष कामगर्दा कहिल्यै प्रमाणपत्रमा प्रश्न नउठेकोको तर, अहिले नियतवस आफूमाथि खुँडा चलाइएको भन्दै जोशीले सुनुवाई समितिले समेत उचित अनुसन्धान विना निर्णय गर्नु आश्चर्यजनक भएको उहाँले बताउनु भएको छ ।