शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबेर बेपत्ता

 

कठमाडौं ,साउन २० । शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबेर बेपत्ता भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुक्रबार भ्रमणमा निस्केका थिए । तालमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

बेपत्ता हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अन्दाजी १७ वर्षीय पेम्बा दोर्जे शेर्पा, अन्दाजी १६ वर्षीय पेम्बा नुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का अन्दाजी १६ वर्षीय सुनील बराइली रहेका छन् ।

 

घटनासम्बन्धी सूचना प्राप्त हुनासाथ सिम्रिक एयरको हेलिकप्टरमार्फत स्थानीयसहित प्रहरी चौकी खुम्जुङबाट खटिएको प्रहरी टोलीलाई प्रतिकूल मौसमका कारण उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक पराजुलीले जानकारी दिनुभयो ।

उक्त स्थानमा फोन सम्पर्कसमेत नहुँदा घटनाको थप विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो । रासस