उपत्यकामा नै भूमिगत प्रसारण लाइन, समस्या समाधानका लागि ऊर्जाको पहल

 

सांकेतिक तस्बिर ,

 

 

काठमाडौँ, साउन २१ । नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ ।

 

त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ ।

सो प्रसारण लाइनको हाल ६३० मिटरको काम (४८ प्रतिशत) निर्माण सकिएको छ । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । स्थानीय बासिन्दालाई असर नपर्ने गरी निर्माण भइरहेको यो नेपालको प्रसारण लाइन निर्माणको इतिहासमा पहिलो भूमिगत प्रसारण लाइन भएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज आयोजनाको स्थलगत निरीक्षण गर्नुभयो । स्थलगत निरीक्षणका क्रममा मन्त्री पुनले बाँकी रहेको काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

 

त्रिशूली करिडोरमा उत्पादित विद्युत् प्रवाह गर्ने मुख्य तथा महत्त्वपूर्ण लाइन भएकाले तोकेको समयभित्र पूरा गर्न मन्त्री पुनले विशेष चासोका साथ पहल गर्नुभएको हो । ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिन माग गरेको थियो ।

 

यस्तै वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र निर्माण सक्ने प्रतिबद्धता जनाइएको छ । भूमिगत प्रसारण लाइन निर्माणका लागि हाल २७० कामदार परिचालित छन् । रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी समस्या समाधान गरिदिन आग्रह गर्नुभएको थियो ।

 

“स्थानीय बासिन्दाले उठाएको समस्या हामी मिलाउँछौँ, गृहमन्त्री रामबहादुर थापासँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौँ, रुख कटानमा रहेको समस्या समाधान गर्छौं”, मन्त्री पुनले भन्नुभयो, “सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सकिनु पर्दछ ।

 

केही समय पहिले मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६८२ वटा रुख काटन स्वीकृति दिएको थियो । उत्पादित विद्युत् खेर जान नदिन समयमै प्रसारण लाइन पूरा हुनुपर्ने मन्त्री पुनले बताउनुभयो ।

 

अहिले प्रसारण लाइनको मार्ग केही परिवर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर ३३६ वटा पुगेको छ । रुख कटानको स्वीकृतिका लागि अनुरोधसहितको पत्र वन विभागका पुगेको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुनः पेश गर्नुपरेको आयोजनाले जनाएको छ । काट्नुपर्ने रुखमा टाँचा लगाइसकिएको छ ।

 

भूमिगत लाइनका लागि सडक खनिएकाले बर्खाको समयमा हिलो भएकाले स्थानीय बासिन्दाले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोहीअनुसार गर्न निर्देशन दिनुभएको छ ।

 

उक्त प्रसारण लाइन तत्कालका लागि नुवाकोटमा निर्माण भइरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ए को विद्युत् काठमाडौँ ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ । त्यसकारण पनि प्रसारण लाइन सोही समयभित्रै निर्माण गर्नुपर्ने दबाव परेको छ ।

 

कूल ४५ किलोमिटर लामो प्रसारण लाइनको १४० वटा टावरमध्ये १२७ को जग हालिसकिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । भौतिक निर्माण दुई महिनाभित्र पूरा भए तार केही समयपछि तान्न सकिने उहाँको भनाइ छ ।

 

सो प्रसारण लाइन आगामी दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बंैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको छ ।रासस ,