अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीले इतिहास रचेर स्वेदेश फिर्ता

 

काठमाडाैं साउन२१। तीन साता अघि क्रिकेट खेल्न युरोप गएको नेपाली टोली अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास रचेर स्वदेश फिर्ता भएका छन् ।

नेदरल्यान्ड विरूद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएका छन् । क्रिकेट खेल्न नेदरल्यान्ड पुगेका १९ सदस्यीय टोली मध्ये कप्तान पारससहित १४ खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो र ट्रेनर सहित १८ सदस्यीय टोली फर्किएका छन् ।

 

ऐतिहासिक ओडिआइ जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

 

नेदरल्यान्ड विरूद्ध एक दिवसीय खेल खेल्नु अघि नेपालले लर्डसमा टी २० सिरिज खेलेको थियो । उक्त सिरिजमा एमसिसिविरूद्ध जित निकालेको नेपालले नेदरल्यान्डसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसी बाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपालले नेदरल्यान्ड विरूद्ध दुई खेलमा ऐतिहासिक एकदिवसीय सिरिज खेलेको थियो । सिरिजको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा १ रनको रोमाञ्चक जित निकाल्न सफल भयाे ।