कानुनमन्त्री भण्डारी नेतृत्वको टोली जाजरकोट पुग्यो, पहिरोबाट मृत्यु भएका परिवारलाई राहत दिने घोषणा

 

सुर्खेत साउन २१।  पहिरो प्रभावित क्षेत्र जाजरकोटमा प्रदेश सरकारका मन्त्री पुगेका छन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आइतबार जाजरकोट पुगेको हो । वनमन्त्री शक्तिबहादुर वस्नेतसंगको समन्वयमा प्रदेश सरकारको टोली जाजरकोट पुगेको हो । जाजरकोट सदरमुकाममा आईतबार पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो ।

 

आइतबार प्रदेशसभाको बैठकमा प्रदेश सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री भण्डारीले भने ‘प्राविधिकसहितको टोली लिएर आज हामी घटनास्थल जाजरकोट जाँदैछौंँ, त्यहाँ पुगेर घटनाको विस्तृत अध्ययन गर्छौं र पीडित परिवारलाइ उपयुक्त ठाउँको छनोट गरी तत्काल बस्ने व्यवस्था मिलाउँछौँ। ’

 

मन्त्री भण्डारीले प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर आजै प्रतिपरिवार २५ हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरिने जानकारी दिए ।मन्त्री भण्डारीले पहिरो पिडीत क्षेत्रका घरपरिवारलाई वैकल्पिक व्यवस्था मिलाइने बताए ।