महाकाली नदि तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

 

बैतडी, साउन २१ । दार्चुलाको उत्तरी क्षेत्रमा ठूलो बर्षा भइरहेकाले महाकाली नदीको तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा/बाढी पूर्वानुमान शाखाका अनुसार दार्चुलाको उत्तरी क्षेत्रमा पानिकाे बाहाव ठुलो भइरहेकोले महाकाली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए।

 

उत्तरी क्षेत्रमा ठुलो बर्षा भएको जानकारी प्राप्त गरेका छौं ।’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने–महाकालीमा पानीको वहाव बढेर जुनसुकै बेला पनि खतरा हुनसक्ने भएकोले सतर्क रहन आग्रह गरेका छौं ।

 

जिल्ला प्रसासन कार्यालय दार्चुलाले जिल्ला सदमुकाम खलंगा,धाप, जोलजिवी लगायतका तटिय क्षेत्रका बासिन्दालाई बढी सतर्क रहन आग्रह गरेको छ ।

 

महाकाली नदी दार्चुला,बैतडी,डडेल्धुरा हुदै कञ्चनपुरसम्म बग्ने भएकोले त्यहाँका तटिय क्षेत्रका नागरिकलाई समेत सतर्क रहन आग्रह गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका, पञ्चेश्वर, शर्माली, डडेल्धुराको परशुराम, कञ्चनपुरको भीमदत्तनगर र दोधारा चाँदनी महाकाली नदी आसपासका नागरिकले सतर्क रहन आग्रह गरिएको हो ।

 

मनसुन न्यूनचापीय रेखा नेपालतर्फ रहेकाले विगत केहीदिनदेखि निरन्तर वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण देशका प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले जनाएको छ ।