प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको टोली र प्रदेश नं ७ को सरकार बिच छलफल

 

कैलाली साउन २१। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थलगत भ्रमण गर्न आएको एक टोलीले आज प्रदेश नं ७ को सरकारसँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारी नेतृत्वको टोलीले प्रदेश नं ७ का मुख्यमन्त्री र मन्त्रीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

 

संघीय, प्रादेशिक र स्थानीय सरकारबीचको सम्बन्ध, प्रदेश सरकार सञ्चालनमा आवश्यक पर्ने ऐन, कानून, नियम, निर्देशिका, कर्मचारी समायोजन, पदपूर्ति र प्रदेश निजामती सेवा ऐन सम्बन्धमा पनि छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 

अन्तरक्रियामा प्रदेशको भौतिक पूर्वाधार र जनशक्ति, प्रदेशको आव २०७५/७६ को बजेट, कार्यक्रम र योजना, प्रदेश प्रहरी ऐन, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोगको गठनलगायतका विषयमा छलफल भएको थियो ।

 

केन्द्र सरकारसँग आवश्यक समन्वय गरी प्रदेश सरकार सञ्चालनमा आएका अड्चन फुकाउँदै जनअपेक्षाअनुसार अगाडि बढ्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विशन सिं. थापाले जानकारी दिए। प्रदेश सरकार सञ्चालनमा आवश्यक पर्ने ऐन, कानून, नियम, निर्देशिका यथाशीघ्र बनाई प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।