नेपाली यू–१९ टोलीले भारतमा एक दिवसीय सिरिज खेल्ने

काठमाडौं, साउन २३ । नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुनेछ ।

 

प्रतियोगितामा सहभागिता जनाउन बिसिसिआईले पत्र पठाएको राष्ट्रिय क्रिकेट टोली व्यवस्थापक रमन सिवाकोटीले राससलाई जानकारी दिनुभयो । “निमन्त्रणा आएको छ, हामी छफफल गर्दैछाँै, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग पनि स्वीकृत लिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

 

यू–१९ को केही खेलाडी राष्ट्रिय टोलीमा पनि रहेको र भर्खर नेदरल्याण्डसबाट फर्किएकाले यसबारे निर्णय गर्न एक दुई दिन लाग्ने उहाँको भनाइ छ । यता बिसिसिआईले भने खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार भदौ २७ गते इडेन गार्डेन्स कोलकातामा भारतविरुद्ध अफगानिस्तानले खेल्नेछ । सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध नेपालले खेल्नेछ ।

 

त्यसैगरी भदौ २९ गते इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल, सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध अफगानिस्तान, भदौ ३१ गते इडेन गार्डेन्समा भारतविरुद्ध एनसिए, सोही दिन जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछन् । असोज २ गते इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टोलीबीच फाइनल र सोही दिन जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टोलीबीच प्ले अफ खेल हुनेछ ।
चार खेलाडी आइसिसीको वरीयतामा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० बरियताको उत्कृष्ट एकसय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन् ।

 

आइसिसीले मंगलबार सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका दुई ब्याटसम्यान र दुई बलर परेका हुन् । ब्याट्सम्यानको वरीयतामा २६५ रेटिङ अंकका साथ कप्तान पारस खड्का ९० औँ र २३८ रेटिङ अंकका साथ शरद भेषवाकर ९८औँ स्थानमा परेका छन् । वरीयताको शीर्ष स्थानमा आरोन फिञ्च छन् भने दोस्रो स्थानमा पाकिस्तानको फखर जमान र तेस्रो स्थानमा भारतका लोकेश राहुल छन् ।

 

नेपालका बलरद्वय वसन्त रेग्मी र सोमपाल कामी क्रमशः ३९७ अंकसहित ७१औँ ३३८ अंकसहित सो ९२औँ स्थानमा छन् । नेपालले गत साता नेदरल्याण्डस्सँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेपछि नेपाली खेलाडीको वरीयता तोकिएको हो ।रासस ,