प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा

 

काठमाडौं साउन २३। अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ ।

फिरौती माग्न अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बर पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंको आधिकारिक नम्बरबाट अपहरणकारीको मोबाइलमा एउटा सन्देश पठाइएको थियो । अपहरणकारीको मोबाइल अफ भएका कारण उक्त एसएमएस टेलिकम सिस्टममा ‘पेन्डिङ’ मा बसेको थियो ।

 

सोमबार अपहरणकारी मारिएपछि महाशाखाको टोलीले उनीहरूको साथबाट बरामद गरेको सिमकार्ड मोबाइलमा हाल्दा उक्त सन्देश डेलिभर भएको थियो । उच्च स्रोतका अनुसार परिसरबाट पठाइएको सन्देशमा ‘बालकलाई तुरुन्त नछाडे जे पनि हुन सक्ने’ आशयको सन्देश थियो । अपहरणकारीलाई धम्काएर बालक छुटाउने रणनीतिअन्तर्गत त्यस्तो सन्देश पठाइएको भए पनि अपहरणकारीले सिम निकालिसकेकाले त्यो पढ्न पाएका थिएनन् ।

 

अपहरणजस्तो संवेदनशील घटनामा त्यसरी सन्देश पठाउनु अनुसन्धानका दृष्टिले गलत हुन सक्ने पूर्वप्रहरी अधिकारी बताउँछन् । महाशाखा र परिसरबीच समन्वय नहुँदा समयमै बालकको उद्धार हुन नसकेको र अपहरणकारीसित भएको भनिएको इन्कान्टर समेत सन्देहमा परेको ती अधिकारीले बताए । ‘इन्काउन्टर र एसएमएस प्रकरण दुवैमाथि प्रहरी प्रधान कार्यालयको दृष्टिकोण आउनुपर्छ,’ उनले भने ।

 

‘प्रहरीले नै गाडीमा हालेर लगेका थिए’

 

‘चैतदेखि गोपाल र अजय हाम्रो घरको भुइँतलामा डेरा गरेर बसेका हुन् । उनीहरू काम नपरेका दिन बिहान ९–१० बजेसम्मै सुत्थे । तर सोमबार बिहानै घर बाहिर देखेपछि मैले कहाँ गएर आएको भनेर सोधेँ । गोपालले फोहोर फालेर आएको बतायो ।

 

रातभर नै हाम्रो घर वरिपरि प्रहरीले छापा मारेको कुरा बिहान थाहा भयो । ९ बजेतिर हाम्रो घरमा ३ गाडी र ४ मोटरसाइकलमा मान्छे आए । पछि पो थाहा भयो तिनीहरू सादा पोसाकका प्रहरी रहेछन् । घरधनीलाई माथिबाट तल झर्न नदिई गोपाल र अजय बस्ने कोठा सर्च गरे । गोपालले शव गाडेको ठाउँ देखाएपछि केही प्रहरी त्यता लागे ।

 

उनीहरूले गोपाल र अजयलाई कोठाभित्र थुनेर कुटेजस्तो लाग्यो । कुटेको आवाज बाहिरसम्मै सुनिएको थियो । एउटाको त हात नै भाँचिएजस्तो लाग्छ । करिब एक घण्टापछि प्रहरीले उनीहरूलाई गाडीमा हालेर लग्यो । प्रहरीले नै ढोका लगाएर साँचो लगेको थियो । त्यसको केहीबेरमा हुलका हुल प्रहरी डयुटी पोसाकमा आए । ती प्रहरी ढोका फोडेर भित्र जान खोजे ।

 

कोठाको साँचो सादा पोसाकका प्रहरीले नै लगेको बताएपछि उनीहरूले झ्यालमाथिको खापाबाट मात्रै भित्र नियालेका थिए । अपहरणकारी भनिएका अजय र गोपाल डेरा गरी बस्ने घरकै एक सदस्यले बताए।

 

‘मारिएकाको खुट्टामा कसरी चप्पल ?’

 

अजय र गोपाल पेन्टरको काम गर्छन् भन्ने सुनेको हो । सोमबार बिहान उनीहरूलाई प्रहरीले लग्यो रे । अपहरण गरी बच्चा मारेछन् रे भन्ने पनि सुनें । उनीहरू सामान्य खालका केटा थिए । पहिले त्यस्तो बदमासी गरेको पनि केही सुनिएको थिएन । पेन्टका गोल्टिन बट्टामा कपडा पट्याएर राख्थे । पछि पो उनीहरू मुठभेडमा मरेको कुरा सुनें । उनीहरूको खुट्टामा चप्पल पनि देखें ।

घरबाट उनीहरूलाई लैजाँदा उनीहरूका खुट्टामा चप्पल नै थिएन । पछि कसले चप्पल लगाइदियो थाहा भएन ।  अजय र गोपाल डेरा गरी बस्ने घर नजिकैका एक स्थानीयले बताए। कान्तिपुर दैनिकबाट ।