बेनी नगरपालिका–४ सुर्केमेला गाउँका सत्र घर पहिरोको जोखिममा

 

म्याग्दी, साउन २३ । बस्तीमाथिको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ सुर्केमेला गाउँका १७ परिवार जोखिममा परेको छ ।

बेनी नगरपालिका–३ को पहाडबाट पहिरो खस्न थालेपछि फेदीमा रहेको सुर्केमेला गाउँ जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएपछि बाढीले छेउछाउको बस्ती कटान गर्न थालेको छ । पहिरोका कारण १७ परिवार विस्थापित हुने खतरा रहेको स्थानीयवासी टीकाबहादुर रानाले बताउनुभयो ।

 

अहिले स्थानीयवासीले आफन्त र छिमेकीकहाँ आश्रय लिएका छन् । विसं २०३१ मा राखुको भीरबाट खसेको पहिरोले सुर्केमेलामै घर पुरिँदा १२ जनाको ज्यान गएको थियो । जोखिमबारे जिल्ला विपद् व्यवस्थापन समिति, नगरपालिका र सुरक्षा निकायलाई जानकारी गराएर क्षति न्यूनीकरणको पहल गर्न आग्रह गरिएको वडा सदस्य देवबहादुर घलेले बताउनुभयो । पहिरोका कारण बेनी–बरंजा सडक अवरुद्ध भएको छ । सुर्केमेला, बास्कुना र बरंजामा उत्पादित दूध बजार पु¥याउन समस्या भएको उहाँको भनाइ छ ।

 

 

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढालगायतको टोलीले पहिरो जोखिमयुक्त क्षेत्रको निरीक्षण गरेको छ । अवरुद्ध सडक सञ्चालन गर्न तथा थप क्षति हुन नदिन तारजाली उपलब्ध गराइने प्रजिअ अधिकारीले बताउनुभयो । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ ।

 

 

जिल्लाको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा सडक अवरुद्ध छ । अन्नपूर्ण गाउँपालिकाको शिख, घार, घोडेपानी, पाउद्धार र दाना क्षेत्रमा पहिरोले पोल ढलेपछि विद्युत अवरुद्ध छ ।

 

 

सडक अवरुद्ध भएका कारण विद्युत्को लाइन मर्मतमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो ।रासस