९ वटा सहकारीबाट ४९ लाख भन्दा बढिकाे चोरी

चितवन, साउन २५ । चितवन जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ। विगत ६ महिनामा जिल्लाका ९ सहकारी संस्थामा चोरी भएको छ। चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट ४९ लाख ३८ हजार रुपैयाँ बराबरको चोरी भएको छ। एउटा सहकारीबाट १० हजारदेखि ३५ लाख रुपैयाँसम्म चोरी भएको छ।

 

सबैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट ३५ लाख ८० हजार रुपैयाँ चोरी भएको छ। गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट १० हजार, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट ५० हजार, माडीको सहनशील महिला सहकारीबाट १ लाख ११ हजार, बछ्यौलीको साना किसान कृषि सहकारीबाट ३६ हजार तथा बछ्यौलीकै बछ्यौली नारी चेतना सहकारीबाट १ लाख १५ हजार रुपैयाँ चोरी भएको छ।

 

यस्तै रत्ननगरको एकीकृत कृषक बचत तथा ऋण सहकारीबाट १ लाख ९९ हजार, भरतपुरको अभ्युदय बहुउद्धेश्यीय सहकारीबाट ३ लाख १७ हजार र भरतपुरकै प्रभा दिदी बहिनी सहकारीबाट ६ लाख ५३ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालयको दर्ता उजुरीमा उल्लेख छ।

 

चोरीमा सम्बन्धित कार्यालयकै कर्मचारी तथा सो विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको पाइएको ढकालले बताए। घटनाको अनुसन्धान गर्न टोली गठन गरी परिचालन गरिएको छ। सहकारीमा चोरी गर्ने गिरोहले सिसी क्यामेरा नष्ट गरेर चोरी गर्ने गरेको पाइएको छ। शृङ्खलावद्ध रूपमा सहकारी संस्थामा चोरी हुन थालेपछि सहकारीकर्मी चिन्तित बनेका छन्।रासस