प्रचण्डले आगामी भदौं २२ देखि २७ सम्म भारतको भ्रमण गर्ने

काठमाडौं, साउन २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको भारत र चीन भ्रमणको मिति तय भएको छ । प्रचण्डले आगामी भदौं २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ गते एक साता लामो चीन भ्रमणमा जाने प्रचण्डको सचिवालयले जनाएको छ ।

 

भारत भ्रमणका क्रममा प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट छलफल गर्नेछन् ।

 

अघिल्लो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निम्तो दिएका थिए ।

केही समय अघि चितवनमा आयोजित एक कार्यक्रमा प्रचण्डले छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने बताएका थिए । भ्रमणमा विकासका मोडेलबारे छलफल गर्ने प्रचण्डले बताएका थिए । प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका थिए ।