७ करोड खाने ढकाल जेल चलान सिंगो परिवार नै भ्रष्ट्राचारमा

 

 

काठमाडौ  साउन २५। नगरपालिकामा अधिकृतको जागिर खाएको दुई वर्षमै ७ करोड भ्रष्टाचार मुद्दामा तानिएका ईलाम माई नगरपालिकाका अधिकृत रविनचन्द्र ढकाललाई जेल चलान गरिएको छ ।

 

विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले मुद्दाको टुंगो नलागेसम्म पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा ढकालसहित ५ जनालाई विपक्षी बनाईएको थियो ।

 

ढकालकी आमाको नाममा सिन्धुलीस्थित एनआईसी एसिया बैंकमा राखेको ६ लाख ५५ हजार रुपैयाँ, सासुका नाममा काठमाडौं पुलचोकस्थित सोही बैंकमा राखिएको ३० लाख, साथीकी श्रीमती प्रमिला भण्डारीको नाममा प्राइम बैंक बिर्तामोडमा २१ लाख ६५ हजार, उनकै नाममा राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा २७ लाख रुपैयाँ राखेको भेटिएको छ ।

 

विपक्षीमध्ये माई नगरपालिकाका प्रशासकीय अधिकृत कालीदास ढकाल १५ लाख धरौटी बुझाएर बिहीबार साधरण तारेखमा छुटेका छन् । विपक्षी बनाइएका ढकालकी आमा प्रेमकुमारी, सासु तुलसी आचार्य, काकी सावित्री ढकाल भने अदालतमा उपस्थित नभएको विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।