नारायणगढ मुग्लिन सडक कालो पत्रे पूरा

 चितवन, साउन २६ ।कालोपत्रे सकिएसँगै आयोजनाको काम ९८ दशमलव तीन प्रतिशत पूरा भएको इन्जिनियर खनालले जानकारी दिए।अब सडक सुरक्षाका केही कामहरु मात्रै बाँकी छन्।

 

कालोपत्रे पुरा भएसँगै नारायणगढ मुग्लिन सडक विस्तारको काम लगभग सकिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार शुक्रबारदेखि कालोपत्रेको काम सकिएको हो ।

 

यो पनि पुरा भएपछि एक प्रतिशत काम मात्रै बाँकी रहन्छ। जुन आकस्मिक रुपमा समस्या आउँदा ठेकेदारले गर्नु पर्ने कामहरु हुन्। त्यो एक वर्षपछि मात्रै पुरा हुन्छ। काम अब सकियो भन्दा फरक नपर्ने खनालले बताए ।

 

सन् २०१५ को अप्रिल अर्थात ७२ सालको वैशाखमा दुई वर्षभित्र काम सक्ने सर्तमा ठेक्का सम्झौता भएको थियो । काम सुरु नहुँदै भूकम्प आयो, सूचना अधिकारी खनालले ०७२ साल असारको दोस्रो साताबाट निर्माणको काम सुरु भएको बताए ।

 

त्यसपछि मधेस आन्दोलन, नाकाबन्दी र इन्धन संकटले समस्या थप्यो।समयमा काम नसकिएपछि पटक पटक म्याद थप भएको थियो। खनालका अनुसार पाँच पटक म्याद थप भएको छ। यो सडक राजधानी काठमाडौंको लाइफ लाइन हो ।

 

२०३६ सालमा नारायणगढ गोरखा सडकका रुपमा निर्माण भएको यो सडक साढे पाँच मिटर मात्रै चौडा थियो। कुल ३६ किलो मिटर लम्बाइको सडकको ३३ दशमलव दुई किलो मिटरमा विस्तारको काम भएको थियो।

 

सुरुवाती लागत अनुमान दुई अर्ब ९० करोड रहेको विस्तारको काममा सम्पन्न हुँदा तीन अर्ब २८ करोड रुपैयाँ खर्च भएको खनालले जानकारी दिए।राजधानीलाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने यो सडक खण्डमा दिनमा १० हजार गाडी गुड्छन्।

 

सडकलाई एशियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउन नौदेखि ११ मिटर चौडा बनाइएको छ। विश्व बैंकको सहयोगमा विस्तारको काम भएको हो।

 

विस्तारका लागि पहाड काटेको ठाउँमा अहिले पनि पहिरो गएर १२ घण्टासम्म गाडी रोकिएको छ। गतवर्ष लगातार ४३ घण्टा बाटो बन्द भएको थियो। अहिले ६ ठाउँमा पहिरोको समस्या छ। त्यस्तै दुई ठाउँमा सडक भाँसिएको छ, सडक चिल्लो र फराकिलो भए पनि जिर्ण पुलहरु अझै पनि छन्। १८ वटा पुल जिर्ण भए पनि हाल चारवटा पुल मात्रै नयाँ बनाइदै छ ।

 

विस्तारको काम सुरु भएसँगै जाम र पहिरोको समस्याले धेरैलाई पिरोलेको थियो।सवै ठाउँमा कालोपत्रे भएसँगै अहिले ३५ देखि ४५ मिनेटभित्र यो सडक पार गर्न सकिन्छ। तर पहिरोको पिरलो कायमै छ।