शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गरी प्रतिवेदन पेश गर्न विज्ञ समूह गठन

काठमाडौं, साउन २८ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गरी प्रतिवेदन पेश गर्न विज्ञ समूह गठन गरेको छ ।

 

आयोगका अध्यक्ष, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आइतबार बसेको तेस्रो बैठकले शिक्षाका आठ वटा विषयगत कार्यक्षेत्र तोकी विज्ञ समूह गठन गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी गराउनुभयो ।

 

बैठकले उच्च शिक्षाको बारेमा सुझाव दिनका लागि पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधार, माध्यमिक शिक्षाका लागि श्याम श्रेष्ठ, आधारभूत शिक्षाका लागि प्रा डा मीनवहादुर विष्ट, जीवनपर्यन्त शिक्षाका लागि विमल फुयाँल र प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि प्रा डा टंकनाथ शर्माको विज्ञ समूह गठन गरिएको छ ।

 

यसैगरी शैक्षिक संस्थाको सुशासन, वित्त र साझेदारीका लागि उषा झा, शिक्षामा गुणस्तरको लागि पूर्वशिक्षामन्त्री धनीराम पौडेल र समावेशिता र समसामयिक विषयको लागि प्रा डा विद्यानाथ कोइरालाको विज्ञ समूह गठन गरिएको छ ।

 

प्रवक्ता अर्यालले आठ विषयमा विज्ञ समूहले सरोकारवालासँग छलफल गरेर चाँडै नै आयोगलाई प्रतिवेदन बुझाउने बताउनुभयो । बैठकमा प्रस्तुत गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकको विषयवस्तु र विधेयकमा समावेश गर्नुपर्ने थप विषयका सम्बन्धमा आयोगका सदस्यले आआफ्नो धारणासमेत प्रस्तुत गर्नुभएको थियो ।

 

बैठकमा सङ्घीय शासन प्रणालीमा शिक्षाको दूरदृष्टि, उद्देश्य, समाजवादउन्मुख शिक्षाको प्रणाली, शिक्षाको निर्देशक सिद्धान्त र सङ्घीय संरचनाअनुसार तहगत भूमिकाका सम्बन्धमा आयोगमा छलफल अगाडि बढाउँदै अवधारणा पत्र विकास गर्नेसमेत निर्णय भएको प्रवक्ता अर्यालले जानकारी गराउनुभयो ।रासस