छोरीलाई जन्मनै निषेध,पढेलेखेका र क्रान्तिकारी भनिएका पनि छोरा नै चाहन्छन्

 

काठमाडौं साउन २८। नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ ।

 

विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुनेलगायत कारणले छोरीको जन्मदर घट्दै गएको हो ।

 

केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार ९०६८ को राष्ट्रिय जनगणना एक सय २१ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । सबैभन्दा धेरै प्रसूति सेवा दिने थापाथलीस्थित प्रसूतिगृहको तथ्यांकमा पनि ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी जन्मिएका छन् ।

 

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको तथ्यांकनुसार आर्थिक वर्ष ०७३-७४ मा देशभर एक लाख ७७ हजार २ सय ५३ छोरा जन्मिए । सोही वर्ष जन्मिने छोरीको संख्या भने एक लाख ६६ हजार ३ सय २४ मात्र थियो । त्यस्तै, आब ०७२-७३ मा एक लाख ८६ हजार ८ सय १७ छोरा जन्मिँदा एक लाख ७३ हजार ४ सय ९६ मात्र छोरी जन्मिए । आर्थिक वर्ष ०७१-७२ मा एक लाख ४७ हजार ४ सय २४ छोरा जन्मिए भने एक लाख ४३ हजार ४ सय १६ मात्र छोरी जन्मिए ।

 

प्रसूतिगृहमा आर्थिक वर्ष ०७३-७४ मा १८ हजार ७ सय २० बच्चा जन्मिएका थिए । तीमध्ये १० हजार १ सय ३ छोरा र ८ हजार ६ सय १७ छोरी थिए । आब ०७२-७३ मा ९ हजार ९ सय २७ छोरा र ८ हजार ३ सय ८५ छोरी जन्मिए । त्यस्तै, ०७१-७२ मा १० हजार १ सय ९२ छोरा र ८ हजार ६ सय २१ छोरी मान्छे जन्मिए । आव ०७०-७१ मा ९ हजार ९ सय ५३ छोरा र ८ हजार ७ सय ९० छोरीको जन्म भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

तथ्यांक विभागका सूचना अधिकारी प्रमोदराज रेग्मीका अनुसार नेपालमा छोरीको जन्मदर भारतमा भन्दा धेरै कम हुँदै छ । भारतमा एक सय ११ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । त्यस्तै, सिंगापुरमा एक सय ७ छोरा जन्मिँदा सय छोरी जन्मिन्छन् । यो अनुपात २५ वर्षदेखि स्थिर छ । समाचार नयांपत्रिकामा छ ।