भारतको धौलीगंगा बाँध खोलियो महाकाली नदी तटिय क्षेत्रमा सुरक्षित बस्न आग्रह

सांकेतिक तस्बिर

दार्चुला, साउन २८ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ ।बाधँको पानी खोलिदा महाकाली नदी तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले पूर्व सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

 

बाधँमा पानीको मात्रा बढेको र नियमित सरसफाइ समेत गर्नुपर्ने भएकोले सोमबार बिहान ७ बजे बाँध खुला गरिएको धारचुला प्रशासनले जनाएको छ ।

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । धौलीगंगाबाट दार्चुलाको नदी तटिय क्षेत्रमा पानी पुग्न करिब २ घन्टासम्म समय लाग्ने गर्दछ ।

 

पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले बताएका छन् । गत महिना दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरुको सिमा सुरक्षा बैठकमा बाँधको पानी छाड्ने समयबारे पुर्ब सूचना आदानप्रदान गर्ने सहमति भएअनुसार भारतीय प्रशासनले जानकारी गराउँदै आएको छ । २८० मेगावाट विद्युत क्षमताको धौलीगंगा बाधँ यस वर्षमात्रै चारपटक खोलिएको छ ।

 

खासगरी दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकामा नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं तुइन, ट्युबको प्रयोगगरी महाकालीमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।