अविरल वर्षासंगै कञ्चनपुरको जगबुढा नदीमा आएको बाढी महाकाली नगरपालिकाका तीन दर्जन बढी घर डुवानमा

 

कञ्चनपुर, साउन २८ । दुई दिन देखिको अविरल वर्षासंगै कञ्चनपुरको जगबुढा नदीमा आएको बाढी महाकाली नगरपालिका १० को शान्ति टोल (गिरी टोल)मा पस्दा पुरै बस्ती जलमग्न भएको छ ।

 

हालसम्म मानविय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले बताए । यसैगरी महाकाली नगरपालिका वडा नं ८ सुन्दर बस्तीका केही घरहरु समेत डुवानमा परेका छन । बस्ती डुवान संगै स्थानिय बासिन्दाले खेतमा लगाएको तरकारी बाली र धानबालीमा व्यापाक नोक्सान पुगेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार बस्तीका ७ वटा घरहरु र ३५ वटा पसल डुवानमा परेका छन । बस्तीका बासिन्दा पानी पस्न थालेपछि शुरक्षित स्थानमा गएका छन । जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले डुवानमा परेका बासिन्दालाई शुरक्षित स्थानमा सारेको हो ।

 

नदीको बहाव तिब्र भएकाले तटिय क्षेत्रमा बसोबास स्थानियलाई सजग रहन तथा सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ् । महाकाली नदीले नगरपालिकाको वडा नं १ स्याउले बजार नजिकको बाँधमा क्षति पुरयाएको छ । बाँधका आधा दर्जन बढी तारजाली नदीले बगाएको छ । तटबन्धको केही तारजाली धसेका छन् ।

 

नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयको सहयोगमा तारजालीमा ढुङ्गा भर्ने कार्य सुरु गरेको ईलाका प्रहरी दोधारा चादनीका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले बताए । यसैगरी अविरल बर्षाका कारण स्याली, सनवोरा, वनहरा, दोदा नदीको जलस्तर समेत बढेको छ ।

 

स्याली नदीमा भैंसी तार्ने क्रममा आइवार शुक्लाफाँटा नगरपालीका ७ का गोमती भट्टको बगेर मृत्यु समेत भएको थियो । नदीको जलस्तर बढेपनि अन्य क्षतिको खवर भने अहिले सम्म प्राप्त हुन सकेको छैन ।

 

वनवसा पुलमा चारपांग्रे सवारी साधन सञ्चालनमा रोक

 

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक बढी भएपछि पश्चिमी सीमानाकामा रहेको वनवसा पुलमा चार पांग्रे सवारी साधान सञ्चालनमा रोक लगाईएको छ । आइतवार मध्यान्ह देखि लगाईएको रोक अहिले सम्म यथावत रहेको छ ।

 

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार डडेल्धुराको परिगाँउमा महाकाली नदीको बहाव ५ दशमलव २५ सेन्टिमिटर पुगेको छ । महाकाली नदीको बहाव चेतावनी तह भन्दा मुनिनै रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका जनक पन्तले बताए ।

 

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकाली नदीको बहाव दिउसो १ बजेको मापन अनुसार एक लाख १५ हजार क्यूसेक पुगेको छ । पुल मोटरसाईकल, साईकल र पैदल यात्रुका लागि भने खुला रहेको छ ।