पूर्वमन्त्रीदेखि करोडपतिसम्म गरिबको सूचीमा

धनगढी/बाजुरा/बझाङ, साउन २९ । बझाङको जयपृथ्वी नगरपालिका–४ निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन्। खड्काका जेठा छोरा डाक्टर छन्। पोखरामा उनको निजी अस्पताल छ । खड्काका अर्का छोरा इन्जिनियर छन्। बुहारी क्याम्पसमा पढाउँछिन्। खड्का परिवार गरिबको सूचीमा छ तर खानलगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन्।

बझाङकै बुंगल नगरपालिका–४ का रमेश ताम्राकार र उनकी पत्नी सन्तोषी दुवै जागिरे छन्। रमेश निमावि शिक्षक र सन्तोषी समाजिक परिचालिका हुन्। यो परिवार पनि गरिबको परिचयपत्र पाउने सूचीमा छ। सोही नगरपालिका–९ का गणेश दमाईं, वसन्त दमार्इंलगायत १० परिवारको नाममा जग्गा छैन। आफ्नो नाममा घरजग्गालगायत कुनै सम्पत्ति नभएका उनीहरू भने गरिबको सूचीमा छैनन् । ‘हामी गरिब मान्छेलाई कसले हेर्छ र ? पहुँच हुने र हुनेखानेलाई नै गरिबको सूचीमा राखिएको छ’, गणेश दमाईंले भने, ‘हामी केही पनि नभएका १० परिवारलाई गरिबको परिचयपत्र दिने सूचीमा राखिएको छैन।’

जयपृथ्वी नगरपालिका– ५ का तेजबहादुर सिंह गाउँपालिका कार्यालयका कर्मचारी हुन्। उनलाई पनि गरिबको सूचीमा राखिएको छ तर आर्थिक अवस्था कमजोर भएका सोही वडाका डबले दमार्इं गरिबमा परेका छैनन्।

पहिलो चरणमा बाजुरा, बझाङ, कैलालीसहित २५ जिल्लामा गरिब परिवार पहिचान गरी परिचयपत्र उपलब्ध गराउने सरकारी नीति छ। २०७० सालमा संकलित तथ्यांकअनुसार गरिबको सूची बनाइएको छ। गरिबलाई पनि तीन वर्गमा छुट्याएर तीन महिना पनि खान नपुग्नेलाई अतिगरिबको सूचीमा राख्ने नीति छ। तर संकलित सूचीमा रहेका सबै वास्तविक गरिब भने छैनन्। हचुवाका भरमा तथ्यांक संकलन गरिएकाले गरिब घरपरिवार गरिबको सूचीमा पर्न नसकेका हुन्। उल्लिखित दृष्टान्तले पनि हचुवाका भरमा गरिबको सूची र परिचयपत्र तयार पारिएको प्रस्ट हुन्छ। यसरी तयार पारिएका परिचयपत्र कतै वितरण गरिएको छ भने कतै वितरणको तयारी भइराखेको छ। -नागरिक दैनिकबाट