बनेन चोभार–दक्षिणकाली सडक

काठमाडौं, साउन ३१ । थप गरेको म्याद गुज्रे पनि चोभार–दक्षिणकाली–सिस्नेरी सडक विस्तारको काम अझै सकिने छाटकाट छैन ।

 

संघीय राजधानीसँग प्रदेश नम्बर ३ को राजधानी जोड्ने यस सडक खण्डको चोभार–दक्षिणकाली–सिस्नेरी २१ किलोमिटर सडक खण्ड चौडा गरी दुई लेनको बनाउन २०७२ असारमा सम्झौता भएको थियो ।

 

सम्झौता अनुसार दुई वर्षभित्र सडक चौडा गर्ने, नाली खोल्ने, पर्खाल लगाउने, ग्राबेलिङ गर्नेलगायतका काम सम्पन्न गरिसक्नुपर्ने थियो । विभिन्न बाधा व्यवधानले गर्दा सम्झौता अनुसार समयमै काम सम्पन्न नभएपछि गत जेठसम्म म्याद थप गरिएको थियो ।

 

थप गरिएको म्याद गुज्रिसक्दा समेत सन्तोषजनक काम हुन नसकेपछि ठेकेदार पक्षले आफैँले दशैँभित्र काम सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएको डिभिजन सडक कार्यालय काठमाडौं १ का इन्जिनियर अशोक शाक्यले बताउनुभयो ।

 

‘काम लगभग अन्तिम चरणमा पुगेको छ । ८० प्रतिशतसम्म काम सम्पन्न भयो होला,’ इन्जिनियर शाक्यले भन्नुभयो– ‘लिखित सहमति अहिलेसम्म भएको छैन । म्याद पनि सकिएको र काम पनि अन्तिम चरणमा पुगेकोले दशैँसम्म काम सम्पन्न गर्ने ठेकेदारबाट प्रतिबद्धता आएको छ ।

 

काठमाडौंबाट हेटौँडा हुँदै वीरगञ्ज, सिमरा, कलैयालगायतका मध्य तराई जाने सयौँ टाटासुमो दैनिक यही बाटो आवत जावत गर्ने गरेका छन । सडक विस्तारको काम सुस्त बन्दा यो सडक हुँदै जाने यात्रुले सास्ती ब्यहोर्नु परेको छ ।

 

धुलो, हिलो, खाल्टाखुल्टी, जामले गर्दा यात्रु दैनिक हैरानीमा पर्ने गरेकाछन । छैमले खण्डलगायत केही खण्डमा स्थानीयको अवरोधकै कारण सडक विस्तारको काम अघि बढ्न सकेको छैन ।

 

‘जग्गा, घर सडकमा परेकाले लगातार अबरोध पु¥याइरहेका छन्,’ इन्जिनियर शाक्यले भन्नुभयो– ‘त्यही अवरोधले गर्दा अहिलेसम्म केही ठाउँमा त सडक कटिङसमेत गर्न समेत सकिएको छैन ।

 

चोभारदेखि दक्षिणकाली १५ किलोमिटर खण्डमा सडक चौडा गरेर केही खण्डमा ग्राबेलिङ गरे पनि दक्षिणकालीदेखि सिस्नेरीसम्म ग्राबेलिङस गर्ने कार्य असोज पछि हुने आयोजनो जनाएको छ ।

 

अहिलेसम्म २२ करोड खर्चिसकेको यस सडकमा अहिले विरोध नआएको स्थानमा काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । वर्षात्को बेला भएर पनि काममा पछिल्लो चरणमा ढिलाइ भएको कार्यालयको दाबी छ ।नेपाल समाचारपत्रबाट