५६ लाख घरधुरीलाई जलविद्युतको मालिक बनाउँदैछौं : ऊर्जा मन्त्री पुन

 काठमाडौं भदाै १।नेपाल विद्युत प्राधिकरणको ३३औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले प्राधिकरणको अगुवाईमा हरेक नेपालीको लगानी सुनिश्चित हुने गरी निर्माण हुने त्यस्ता आयोजना राजनीतिक प्रभाव र दवावमा छनोट नगरिने प्रष्ट पारे ।

 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत आयोजनाको निर्माण गरिने बताएका छन् ।

 

विगतमा भनसुन, राजनीतिक प्रभाव र दवावमा गलत आयोजना छनोट गर्दा प्राधिकरण बनाउने आयोजनाको लागत दोब्बर-तेब्बर भएको छ भने निर्धारित समयमा सकिएको छैन, अब त्यस्तो हुने छैन, प्रतिश्पर्धी र आकर्षक आयोजना छनोट गरी निर्माण गरिने छ ।

 

‘आकर्षक आयोजनाको छनोट गरी ५६ लाख घरधुरीको सेयर लगानी सुनिश्चित हुने गरी राम्रो प्रतिफल दिने आयोजना निर्माण गर्ने छौं, त्यसले अहिले बृद्ध भत्ता पाएजस्तै राज्यको अगुवाइमा निर्माण हुने आयोजनामा सेयर लगानी गरी जनताले प्रतिफल पाउँछन्’,उनले भने ।

 

‘प्राधिकरण र निजी क्षेत्रले आयोजनाको विद्युतको जडित क्षमता बराबर भइसकेको उल्लेख गर्दै मन्त्री पुनले प्राधिकरणले आफ्नो कार्यशैलीमा परिवर्तन गरी प्रतिश्पर्धी बन्नु पर्नेमा जोड दिए ।

 

‘एउटा ठेकेदार कम्पनीले ७४ वटा आयोजनाको ठेक्का लिएको जानकारी पाएका छौं, यस्तो अवस्थामा ती आयोजनाको निर्माण कसरी हुन्छ ?’,उनले भने ।

 

‘लोडसेडिङ अन्त्य भएसँगै प्राधिकरणले प्रवाह गर्ने विद्युत सेवाको गुणस्तरबारे धेरै गुनासा आइरहेका छन्, लोडसेडिङ अन्त्य गर्न जेजस्ता कदम चालिएका थिए अव प्रणालीलाई सुधार गरी विद्युत आपूर्तिलाई भरपर्दो र विश्वसनीय बनाउन सोहीअनुसार चल्नु पर्छ ।

 

१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण सम्पन्न ठेकेदार कम्पनीलाई दवाव दिन चिनियाँ राजदूतलाई समेत आग्रह गरिएको उल्लेख गर्दै मन्त्री पुनले भदौभित्र सम्पन्न भएन भने ढिला हुनाको विकल्प सहितको कारण माग गरे ।

 

‘म अर्थ मन्त्री भएकोवेला नै प्राधिकरणको २८ अर्ब रुपैयाँको संचित नोक्सानीलाई मिनाहा दिइएको थियो, त्यतिवेला यसलाई खण्डिकरण गर्ने कुरा उठेको थियो तर अहिले संस्था सुधार हुँदै गएको छ’,उनले भने । ‘अहिले सहायक कम्पनी स्थापना भएका छन्, तिनीहरु र निजी क्षेत्रका कम्पनी प्रतिश्पर्धी बनिरहेका छन्,यसलाई ध्यान दिएर प्राधिकरण अव चल्नु पर्छ ।’

 

कार्यक्रममा ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले उत्पादित विद्युत खपत बढाउने गरी र सरकारले अगाडि बढाएका नीति कार्यान्वयनमा सहजीकरण गर्ने गरी अगाडि बढ्न निर्देशन दिए ।

 

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष संस्था १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न र विद्युत चुहावट २०.४५ प्रतिशतमा झार्न सफल भएको बताए ।

 

‘तराईका औद्योगिक कोरिडोर र काठमाडौं लगायतका मुख्य सहरहरुमा आगामी दश वर्षभित्रमा १० हजार मेगावाट विद्युत आपूर्ति गर्न सक्ने बितरण प्रणाली विस्तार गरिने छ’,उनले भने । ‘सहरी सन्दरता अभिबृद्धि गर्न एवं विद्युत सेवा भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा भूमिगत वितरण प्रणालीलाई विस्तार गरिने छ ।

 

कार्यक्रममा प्राधिकरणका प्रथम कार्यकारी निर्देशक हर्षमान श्रेष्ठ र गत आवमा उत्कृष्ट कार्य गर्ने १५ कर्मचारी तथा ९ कार्यालयलाई सम्मान गरिएको थियो ।

 

उनले नेपालको एकीकृत विद्युत प्रणालीमा मागको तुलनामा वर्षाता अधिक र हिउँदमा कम उत्पादन हुने भएकाले ऊर्जा व्यवस्थापनका लागि भारतसँग ऊर्जा बैकिङ गर्न आवश्यक कार्यविधि तय गरिने बताए ।