प्रकाण्डलाई फेरि पक्राउ गर्‍याे प्रहरीले सर्वोच्चको रिहा आदेश लगत्तै

 

काठमाडौं भदाै १। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन्।

 

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले फेरि पक्राउ गरेको हो।

 

तर, उनलाई अर्काे अभियोगमा प्रहरीले पक्राउ गरेको हो। यसअघि प्रकाण्ड चन्दा लिएको अभियोगमा पक्राउ परेका थिए, भने शुक्रबार एनसेलको टावरमा आगजनी गरेको आरोपमा पक्राउ परेका हुन्। केही समय अगाडि काभ्रेस्थित एनसेलको टावरमा आगजनी भएको थियो।

 

नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वाेच्चका न्यायाधीशद्वय चोलेन्द्र समशेर जवरा र तेजबहादुर केसीको इजलासले शुक्रबार प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो।