स्टार स्ट्राइकर रोनाल्डोबाट निराश युभेन्टस फ्यान

 

काठमाडौं, भदौ ३ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले युभेन्टसबाट इटालियन सिरी ए फुटबलमा डेब्यु गरेका छन् ।

रोनाल्डोले शनिबार राति भएको खेलमा युभेन्टसबाट सिरी ए मा डेब्यु गरेका हुन् । अवे मैदानमा भएको खेलमा युभेन्टसले सिजनको पहिलो खेलमा किएभोलाई ३–२ ले हराएर विजयी सुरुवात गरेको छ ।

 

११२ मिलियन युरोमा रियल मड्रिडबाट युभेन्टस आएका ३३ वर्षे रोनाल्डोले सिरी ए को पहिलो खेलमा गोल गर्न सकेनन् । यसबाट उनका फ्यान केही निराश भएका छन् । रोनाल्डोले यो खेलमा ८ पटक पोस्ट प्रहार गरे । तर गोल हुन सकेन ।

 

अन्तिम समयमा उनले गोल गरेका थिए तर भिएआर मार्फत रेफ्रीले मान्यता दिएनन् । रोनाल्डोबाट धेरै आश गरेका फ्यानहरु भने केही निराश भएका छन् ।

 

९ वर्षको रियल मड्रिड बसाईपछि युभेन्टस पाएका पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले सिरी ए मा डेब्यु गरेको खेलमा गोल गरे । तर उनको गोलले मान्यता पाएन । इन्जुरी समयमा फेडेरिकोले गोल गर्नु केही अघि मात्रै रोनाल्डोले मारिओ मान्जुकीको प्रहारमा गोल गरेका थिए ।

 

तर रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री, भिएआरको सहायतामा रिभ्यु गरे र रोनाल्डोको गोललाई मान्यता दिएनन् । रेफ्री फब्रिजिओ पास्क्वाले रोनाल्डोको गोललाई मान्यता नदिएका हुन् ।

 

रोनाल्डो किएभोका गोलरक्षक स्टेफानो सोरेन्टिनोसँग ठोक्किएकाले गोलले मान्यता नपाएको हो । ३९ वर्षका सोरेन्टिनोले ३३ वर्षका रोनाल्डोका धेरै प्रहारको सुन्दर बचाउ गरे ।

 

रोनाल्डोले युभेन्टसका लागि परम्परागत प्रि–सिजन मैत्रीपूर्ण खेलमा गोल गरेका थिए । भिलार पेरोरामा भएको खेलमा रोनाल्डोले युभेन्टस बी विरुद्ध पहिलो गोल गरेका थिए ।

 

४००० बासिन्दा रहेको गाउँमा रोनाल्डोको खेल हेर्नका लागि ५००० जना उपस्थित भएका थिए । किएभोमा भएको सिरी ए को पहिलो खेलमा ३९ हजार सिट नै भरिएका थिए ।

 

सामान्यतया यहाँ आधा मात्रै सिट भरिन्थे । तर रोनाल्डोको खेल हेर्नका लागि पूरै सिट भरिएका थिए । रोनाल्डोले खेलको १९ तथा २९ औँ मिनेटमा गोल गर्ने सुन्दर प्रयास गरेका थिए । किएभोमा सबैका नजर रोनाल्डोमाथि नै थिए ।