बाजुराका महिला सुत्केरी हुन २ महिना अघि नै सदरमुकाम आउँछन्

 

बाजुरा, भदौ ३ । बाजुरा जिल्लाकै अतिदुर्गम मानिदै आएको गौमुल गाउँपालिका–१ अन्द्राडीका महिलाहरु सुत्केरी हुन २ महिना अघि नै सदरमुकाम मार्तडी आउने गरेका छन् ।

 

विषेशतः गाउँमा रहेका महिलाहरुलाई गर्भवति भएपछि निकै समस्या हुने गरेको छ । गर्भवति भए नभएको थाहा पाउनका लागि कम्तिमा एक दिनको पैदलदुरी हिँडेर अम्लिसमा रहेको स्वास्थ्य ईकाइमा पुगेर गर्भजाँच गर्नुपर्ने बाध्यता छ ।

 

 

गाउँमा स्वास्थ्य सेवाको कुनैपनि विकल्प नहुँदा उनीहरु सदरमुकाम मार्तडीमा कोठा भाडामा बसेर सुत्केरी गराउन बाध्य छन् । गौमुल गाउँपालिकाको स्वास्थ्य चौकीसम्म पुग्नका लागि उनिहरुलाई एक दिन लाग्ने भएपछि २ महिना अघि नै सदरमुकाम मार्तडी आइसक्नु पर्ने बाध्यता छ उनीहरुको ।

 

 

सामान्यतया गर्भवती भएको समयमा कम्तिमा पनि ४ पटकसम्म महिलाहरुले स्वास्थ्य जाँच गर्नुपर्ने प्रावधान रहेको भएपनि सो गाउँका महिलाहरु गर्भ जाँच बारे अनविज्ञ छन् ।

 

 

अन्द्राडी गाउँमा ४५ घर परिवारको वस्ती रहेको छ । यहाँका स्थानीय महिलाहरुलाई स्वास्थ्य सेवा लिन १ दिनको पैदल दुरी हिँड्नु पर्ने बाध्यता भएपछि कतिपय गर्भवती महिलाहरुले घरमै सुत्केरी हुनु पर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वंसेविका कमला कुमारी धामी बोहराले बताइन् ।

 

उनले भनिन्–‘आफूले यस गाउँका महिलाहरुलाई विरामी पर्दा सिटामोल समेत दिन सकेको छैनन ।’ दुर्गम भएकै कारण विशेष त यहाँका गर्भवती महिलाहरुलाई समस्या हुने गरेको उनले बताइन् ।

 

दुर्गममा गाउँ भएकै कारण स्वास्थ्य सेवाहरु लिनबाट बन्चित भएकोे स्थानीयहरुको भनाइ छ । स्थानीयहरुकाअनुसार सामान्य विरामी पर्दा समेत यस गाउँका स्थानीयहरुले सहेर बस्नु पर्ने बाध्यता छ ।

 

गाउँ नजिकै स्वास्थ्य चौकी नभएपछि यहाँका कतिपय महिलाहरुले सुत्केरी हुने अन्तिम महिना लागेपछि एक महिना अघि नै जिल्ला सदरमुकाम मार्तडी आईसक्नु पर्ने बाध्यता रहेको स्थानीय जमुना रोकायाले गुनासो गरिन् ।

 

यता गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले गाउँपालिका भरिका ६ वटै वडाका स्थानीयहरुलाई स्वास्थ्य सेवाबाट वन्चित हुन नदिन सबै वडाहरुमा विस्तारै स्वास्थ्य सेवाको पहुँच बढाइने बताए ।

 

गौमुल गाउँपालिकाकै अतिदुर्गममा सो गाउँ भएकाले स्वास्थ्य सेवा दिन समस्या भइरहेको गौमुल गाउँपालिका स्वास्थ्य शाखाका उप–संयोजक वीरबहादुर रोकाया बताउँछन् । स्थानीय र महिलाहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरि गाउँमा उपबर्थिङ्ग सेन्टर स्थापना गर्नका लागि गौमुल गाउँपालिकालाई आग्रह गरेको उनले बताए ।