बस्नै दिएन कोसीले

 

काठमाडौं भदाै ४। कुनै बेलाका जग्गावाल हुन् हरिदास तत्मा । अहिलेको बराह नगरपालिकामा कोशीको पूर्वतर्फ उनको झण्डै एक बिगाहा जग्गा थियो ।

उनीमात्र होइन, उनका बाबुबाजेले बसाएको त्यो बस्तीमा सयौं घर थिए । सप्तकोशीलाई त्यो चित्त बुझिरहेको थिएन । पश्चिमतिरबाट बगिरहेको कोशी २०२० सालपछि पूर्वतर्फ फर्कियो । २० वर्षको अन्तरालमा त्यो गाउँका सबै मानिस आफ्नो जग्गा कोशीलाई छाडेर हिँडे । उनीहरूको साथमा थियो त केवल लालपुर्जा ।

अहिलेसम्म पनि उनीहरूले त्यो जग्गाको मालपोत तिरिरहेका छन् । कोशीपूर्वबाट विस्थापित हुनेमा पूर्वमन्त्री रामकुमार सुब्बा र उनको परिवार पनि हो । बस्ती कोशीमा बगेपछि तत्माको ११ जनाको परिवार २३ सालदेखि कोशीले पश्चिमतर्फको श्रीलंका टप्पुमा बसिरहेको छ । उनले पछि प्रकाशपुरको चक्रघट्टी बजारमा जग्गा जोडे । ‘यहीँ हुर्कियौं, छोडेर जान मन लाग्दैन’, उनी भन्छन् ।

टप्पुमा तीन हजारभन्दा बढी घर परिवारका १० हजारभन्दा बढी मानिस बसिरहेका छन् । सबै खेती र पशुपालनमा निर्भर छन् । तर ती सबै कोशीको धारमा छन् । अर्थात्, उनीहरूलाई जुनसुकै समयमा पनि कोशीले बगाउन सक्छ । कटानकै डरले केहीले टप्पु छाडे पनि अझै धेरै त्यहीँ छन् ।

वर्षेनी कटान

सप्तकोशीले टप्पुको ठूलो भूभाग वर्षेनी कटान गर्छ । सप्तकोशीले कटान कति गर्छ भनेर अनुमान गर्न सकिन्नँ, न त यहाँको क्षेत्रफल, न मानिसको संख्या नै यकिन गर्न सकिन्छ । ‘अघिल्लो वर्ष धेरै कटान ग¥यो, यो वर्ष त्यति गरेको छैन’, तत्मा भन्छन्, ‘पोहोर उः त्यहाँ आँखाले देख्दासम्म टप्पुको जमिन थियो, एकै वर्षमा कोशी वर आइपुग्यो ।

टप्पुमा आँखाले हेर्दा नभ्याउने भूभागमा खुला काँसघारी छ । ठाउँ ठाउँमा गाई भैंसी चरिरहेका देखिन्छन् । स–साना फुसका घर छन् । बाटोको नामो निसान छैन । नजिकै कोशी बगिरहेको छ, टप्पु बिजुलीविहीन छ । हुने खानेले सोलार जोडेका छन् ।

टप्पुको एक छेउबाट अर्को छेउसम्म हिँडेरै पुग्न पाँच घण्टासम्म लाग्छ । टप्पुको केही भूभाग बेलका नगरपालिकामा पर्छ भने केही बराह नगरपालिकाभित्र पर्छ । ‘यति ठूलो जमिन देख्नेहरूले एअरपोर्ट बनाउन पुग्ने ठाउँ रहेछ भन्छन्’, बराह नगरपालिकाकी उपमेयर कमला मगर भन्छिन्, ‘तर यो ठाउँ जोगाउने वा केमा प्रयोग गर्ने भन्ने विषयमा केही योजना छैन, यो संघीय सरकारको निर्णयमा भर पर्छ ।

यो सबै भूभाग सप्तकोशीको तटबन्धभित्र पर्छ । वर्षेनी कटान भइरहेको छ । नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष विस्तारका लागि यो भूभाग प्राथमिकतामा परेको छ । त्यसैले यहाँ नेपाली सेना र आरक्ष प्रशासनले दुई वर्षअघिमात्र आफ्ना कार्यालय यहाँ राखेको छ ।

तर तत्काल ठूलो योजना बनाएर कटान नियन्त्रण नगरेसम्म न यहाँ बस्ती बसाउन सकिन्छ, न एअरपोर्ट वा अरु कुनै संरचना बनाउन नै ।कोशीले घरको जगैसहित बगाउने सम्भावना भएर पनि यहाँ ५० वर्षअघिदेखि बस्नेहरू यो ठाउँ छाड्न चाहँदैनन् । बरु नयाँ मानिस थपिइरहेका छन् ।

२०७१ सालमा टप्पुमा बस्न आइपुगेका हुन् उदयपुरका गोपाल मगर । उनी उदयपुर नगरपालिकामा बस्थे । सानो टुक्रा जमिन पनि थियो । ‘तर त्यहाँ गरिखानै पुगेन, यहाँ धेरै जमिन भएकाले यता आएँ’, उनले भने । उनले टप्पुको जग्गा किनेका हुन् । ‘सिटको चार लाखको दरले दुई सिट किनेको हुँ’, उनले भने, ‘एक सिटमा एक बिगाहासम्म हुन्छ । अन्नपूर्णपोष्टबाट।