प्रधानसेनापतिमा पूर्णचन्द्र थापा सिफारिश, को हुन् थापा

 

काठमाडौं, भदौ ४ । नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई महारथी पदमा पदोन्नती गरी प्रधानसेनापतिमा नियुक्त गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ ।

 

थापालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिश गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

 

प्रधानसेनापतिमा सिफारिश थापा २०३६ सालमा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा भर्ना भएका थिए ।  उनी २०३७ मंसिर २७ गते गोरखबहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए ।  थापाले भारतबाट बटालियन सपोर्ट वेपन, योङ अफिसर कोर्स र नेशनल डिफेन्स कोर्स पूरा गरेका छन् । संयुक्त राज्य अमेरिकाबाट इन्फेन्ट्री अफिसर्स एडभान्स कोर्स र एक्जुकिटीभ कोर्स गरेका उनले नेपालमै कमाण्ड एण्ड स्टाफ कलेज समेत गरेका छन् ।

 

त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयका डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गरेका छन् ।  प्रधानसेनापतिमा सिफारिश भएका कामु प्रधानसेनापति थापाको हजुरबुबा र बुबा दुवैजना नेपाली सेना थिए । बुवा प्रमुख सेनानी फणेन्द्रबहादुर थापा र आमा सावित्री थापाको उनी कान्छा छोरा हुन् ।

 

प्रमुख सेनानी हुँदा थापाले श्रीजंग गण कमाण्ड गर्नुको साथै बाहिनीमा जी—३ को कार्यभार पनि सम्हाले । प्रमुख सैनिक सचिवालयको कार्यलयमा प्रमुख सेनानी हुँदा सम्पर्क अधिकृतको रुपमा समेत उनले काम गरे । उनले जी—२ स्टाफको जिम्मेवारी पनि सम्हाले ।

 

२०६९ जेठ २ गते उपरथी दर्जामा पदोन्नति भएका थापा कार्यरथी विभागमा नियुक्त भएका थिए । उनले उपत्यका पृतनाको कमाण्ड सम्हालनुका साथै जंगी अड्डास्थित सम्भार रथी विभागमा समेत काम गरेका छन् ।

 

संयुक्त राष्ट्रसंघमा पटक—पटक गरी विभिन्न नियुक्तिमा सेवा गरेका उनी २०७१ माघ २५ गतेदेखि २०७२ माघ २४ सम्म संयुक्त राष्ट्रसंघको मध्यपूर्वस्थित इजरायल तथा सिरियाको सिमानास्थित गोलान हाइटमा संयुक्त राष्ट्रसंघको विच्छेदन पर्यवेक्षक दलको हेड अफ द मिसन तथा फोर्स कमाण्डर पदमा पनि कार्यरत थिए ।गाेरखापत्र दैनिकबाट ।