अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलंका प्रस्थान गर्दै

 काठमाडौं, भदौ ४ । आगामी भदौ १३ देखि मलेसियामा हुने एसिया कप छनोट अघि तीन अभ्यास खेल खेल्ने नेपाली टोली आज श्रीलंका प्रस्थान गर्दै छ।

सोमबार दिउँसो १ बजे मालिन्डो एयरबाट नेपाली टोली श्रीलंका जानेछ। त्यसअघि सभामुख कृष्णबहादुर महराले नेपाली टोलीको विदाई गर्ने कार्यक्रम रहेको छ। एक साता श्रीलंका रहने नेपाली टोलीले त्यहाँ तीन अभ्यास खेल खेल्ने पक्का भएको हो । नेपाली टोलीले स्थानीय तीन क्लबसँग अभ्यास खेल्ने छन् ।

 

नेपालले पहिलो अभ्यास खेल बुधबार आर्मी क्रिकेट टिमसँग पानागोडामा खेल्ने छ भने दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबँसंग उसैको मैदानमा खेल्नेछ। नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससँग आइतबार उसैको मैदानमा खेल्ने तय भएको नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन्।

 

श्रीलंकामा तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली भदौ ११ गते सोमबार श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्नेछ। एसिया कपको लागि नेपालले शनिबार १५ सदसीय नेपाली टोलीको घोषणा गरिसकेको छ। नेपाली टोलीमा विनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका छन्।

नेपाली टोली

पारस खड्का- कप्तान
ज्ञानेन्द्र मल्ल- उपकप्तान
बसन्त रेग्मी
अनिल कुमार साह
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
रोहित कुमार पौडेल
सागर पुन
सन्दीप लामिछाने
सोमपाल कामी
सुवास खकुरेल

वैकल्पिक खेलाडी
प्रदीप ऐरी
किशोर महतो
सुनील धमला
सुसन भारी

एसिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युएई, हङकङ, सिंगापुर र ओमानसँग प्रतिश्पर्धा गर्नेछ। छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौं १७ र हङकङसँग भदौं १९ गते खेल्नेछ।

 

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् भने उक्त प्रतियोगिता विजेताले सेप्टेम्बरमा युएइमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछन्।

 

एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ। छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्नेछ।