कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला हत्याका अभियुक्त विष्ट पक्राउ

 

कठमाडौँ, भदौ ४ । गत साउन ११ गते हत्यापछि फालिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या आरोपमा ४१ वर्षीय दिलिपसिंह विष्ट पक्राउ परेका छन् ।

 

जेल सजाय काटेर निस्किएका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए । पक्राउ परेका विष्टलाई म्याद थप गर्न कञ्चनपुर जिल्ला अदालतमा लगिएको प्रहरीले जनाएको छ ।

 

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीको टोलीले भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका विष्टलाई पक्राउ गरेको हो । विष्ट यसअघि पनि आफ्नै भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए ।

 

अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार पक्राउ परेका विष्टले बयानमा क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । ‘१० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएको थियो । चेन खराब भएपछि मैले मिलाइदिएँ अनि कोही नभएको देखेपछि उखुबारीमा लगेर बलात्कार गरें । बलात्कार गर्दा योनीबाट रगत बगेपछि पक्राउ पर्ने डरले मैले हत्या गरेको हुँ ।’ अभियुक्तको बयान उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने ।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला १८ वडामा रहेको साथी रोश्नी बमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृत फेला परेकी थिइन् । उनको हत्यापछि कञ्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मी लगायतले हत्यारालाई पत्ता लगाउनुपर्ने माग गर्दै प्रर्दशन गर्दै आएका छन् । अधिकारकर्मीहरु पछिल्लो २ दिनयता रिले अनसनमा छन् ।

 

 

अविवाहित विष्टलाई प्रहरीले दुई दिनअघि नै पक्राउ गरेको भएपनि सार्वजनिक नगरी अनुसन्धान गरेको थियो । ‘प्रारम्भिक अनुसन्धानबाट विष्टको संलग्नता पुष्टि भएको छ, बाँकी अनुसन्धानकै क्रममा छौं ।’ एक प्रहरी अधिकारीले भने । गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका ल्याउन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।