नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड, लाई फेरि ३ दिन थुनामा राख्न आदेश

 

काभ्रे भदाै ४।नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई जिल्ला अदालत काभ्रेले पुन ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

 

गत वैशाख १ गते जिल्लाको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लुसाइन स्टोन क्रसर उद्योगमा विस्फोटक पदार्थले उद्योग पूर्ण रुपमा क्षति पुर्‍याइएको थियो । चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त बनाइएको थियो ।

 

आइतबार उनलाई ३ दिन अदालतमा राख्न आदेश दिएको थियोे । आइतबार दिएको म्याद सोमबार सकिएपछि प्रहरीले १५ दिन म्याद माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिनको मात्रै म्याद दिएको हो ।

 

त्यसै घटनामा संलग्न आरोपमा प्रहरीले नेकपा (विप्लव) का केन्द्रीय सदस्य मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाएको भए पनि प्रकाण्डलाई प्रहरीले फरार सुचीमा राखिएको थियो । उक्त क्रसर उद्योग कांग्रेस नेता कुन्साङ लामाको हो ।

 

प्रहरीले क्रसर उद्योगमा आगजनी गरि क्षति पुर्‍याउने मोहन कार्की र कृष्ण धमलालाई संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा चलाएको छ । जसमा प्रहरीको अनुसन्धानबाट मुख्य योजनाकार प्रकाण्ड देखिको प्रहरी स्रोतले बताएको छ ।

 

 

प्रहरीका अनुसार संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत दफा ७ अनुसार विस्फोटक पदार्थ प्रयोग, हातहतियार प्रयोगबाट केही विध्वंश गर्ने गराउने, अराउनेलाइ ३ वर्ष देखि १० वर्षसम्म जेल सजाय रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले बताए ।

 

चन्दा उठाएको आरोपमा काठमाडौंमा पक्राउ परेका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटकै सुनुवाई गर्दै गत शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । तर त्यसै दिन प्रहरीले क्रसर उद्योगमा भएको विस्फोटको मुद्दामा पक्राउ गरेको हो ।

 

प्रकाण्डलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै आइतबार सर्वोच्च अदालतमा अर्को बन्दी प्रत्यक्षीकरण रिट पनि दर्ता भएको छ ।