विमानमा अनियमितता, ९ करोड ९० लाख अमेरिकी डलर क्षतिपुर्ति

 

काठमाडौं भदाै ५। विमान उत्पादक एयरबसले अष्ट्रियालाई बेचेका विमानमा ‘अनियमितता’ भएको पाएपछि ९ करोड ९० लाख अमेरिकी डलर क्षतिपूर्ति भरेको छ।

 

सन् २००३ मा बेचेका युरोफाइटर विमानबारे लामो अनुसन्धान भयो। अन्ततः मूल्य बढी लिएको र ढिला गरेको पाइयो। र, १५ वर्षपछि गत फेब्रुअरीमा उसले उक्त रकम क्रेतालाई तिरेको थियो। यत्रो क्षतिमा ‘राजनीतिक बिचौलिया’ को हात थियो।

 

यो प्रकरण नेपाल एयरलाइन्सका पछिल्ला दुई ‘वाइड-बडी’ जहाज खरिद प्रक्रियासँग मिल्दोजुल्दो छ। नेपाल एयरलाइन्सले पनि यस्तो बिचौलिया प्रयोग गरेको छ, जसले धेरै विषयमा एकलौटी सम्झौता गरेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार उत्पादक एयरबसमा सोझै मूल्य बुझ्ने र घटाउने गरिएको छैन। विज्ञहरूका अनुसार सामान्यतः एयरबसले आफ्नो वेबसाइटमा राखेको मूल्यसूचीमा कम्तीमा ५० प्रतिशत छुट दिने गर्छ। कुनै अवस्थामा त ७० प्रतिशतसम्म छुट मिल्छ।

 

अस्ट्रियाको प्रकरणमा त्यहाँका ६० हजार जनताले अनियमिताको आशंका गर्दै छानबिनका लागि हस्ताक्षर गरेका थिए। नेपाल एयरलाइन्सले भने महालेखाको प्रतिवेदनसमेत ढाकछोप गर्दै सार्वजनिक सूचनामार्फत ‘अनियमितता’ को खण्डन गरिरहेको छ। ‘अनियमितता भएको समाचार मिडियामा आइरहेका छन्। महालेखाले प्रस्टै देखाएको छ’, महालेखाका एक उच्च अधिकारी भन्छन्, ‘त्यसलाई ढाकछोप गर्न संस्थाकै खर्चमा विज्ञापनको बाढी लगाइएको छ। यो अर्को अख्तियार दुरुपयोग हो।

 

महालेखापरीक्षक सार्वजनिक लेखापरीक्षणको अन्तिम संवैधानिक निकाय हो। तर, सार्वजनिक निकायहरूले उसको प्रतिवेदनलाई गहनतासाथ नलिई थेत्तरा हुँदै आएका छन्। नेपाल एयरलाइन्सले पनि त्यही गरेको छ।

‘डेलिभरी’ म्याद नराखी सम्झौता

नेपाल एयरलान्सले हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेडसँग गरेको जहाज खरिद सम्झौतामा ‘डेलिभरी’ समय खुलाइएको छैन। सम्झौताको ४।२ नम्बर बुँदामा भनिएको छ, ‘बिक्रेताले क्रेतालाई विमान तयार भएको लिखित जानकारी कम्तीमा २८ दिनअगाडि दिनेछ। एयरबसले कुनै कारणबस त्यस अवधिमा पनि तयार हुन नसक्ने खबर गरेमा बिक्रेताले समय परिवर्तनबारे अवगत गराउनेछ।

 

खरिद(बिक्रीका विज्ञ भन्छन्, ‘यस्तो सम्झौता दुनियाँमा कहीँ पनि हुँदैन।’ अन्य एयरलाइन्सले विमान खरिद सम्झौता गर्दा बुझाउने मिति सम्झौतामा तोक्छन्। ढिला भए क्षतिपूर्ति तिराउँछन्। एयरबसले सिंगापु एयरलगायत धेरैलाई ठूलो मात्रामा क्षतिपूर्ति तिरेको उदाहरण छ। दुई महिना ढिला हुँदा पनि क्षतिपूर्ति लिने छन्।

 

तर, नेपाल एयरलाइन्सले हाई फ्लाई एक्ससँग गरेको खरिद सम्झौताको ४।५ बुँदामा भनिएको छ, ‘जहाज बुझाउने निर्धारित महिना अनुमानमा आधारित हुन्छ। क्रेतालाई यो ज्ञात छ कि नियन्त्रणबाहिरको अवस्था नआएको खण्डमा एयरबसले ढिलाइ गर्ने छैन। नियन्त्रण बाहिरको अवस्था आएर ढिला भएमा एयरबस र बिक्रेता दुवै जिम्मेवार हुने छैनन्। भगवान् वा सार्वजनिक दुष्मनका कारण, युद्ध, गृहयुद्ध, सरकारी आदेश, श्रमिक समस्याजस्ता कारण ढिला भएमा बिक्रेताको दोष हुने छैन। त्यसलाई क्षमायोग्य ढिलाइ मानिनेछ। अन्नपूर्णपोष्टबाट ।