निर्मला बलात्कार गर्ने नक्कली अपराधी सार्वजनिक गरिएको भन्दै महेन्द्रनगरमा झडप, ८ राउन्ड अश्रुग्यास प्रहार

 

कञ्चनपुर भदाै ५।   कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निम्बुखेडामा भएको निर्मला पन्त बलात्कार र हत्या प्रकरणले मंगलवार महेन्द्रनगरमा झडप भएको छ ।

 

प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीको अश्रुग्याँस प्रहारपछि प्रशासन कार्यालय अगाडिको भीड तितरवितर भएपनि प्रदर्शनकारी आक्रोशित भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमवार अपराह्न पत्रकार सम्मेलनमार्फत् निर्मला हत्याकाण्डका अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै सर्वसाधारण आन्दोलन भएका छन् । आन्दोलित सर्वसाधारणले सोमवार सदरमुकाम महेन्द्रनगर समेत बन्द गरेका छन् ।

प्रहरीको दाबीमाथि अविश्वास गर्दै सर्वसाधारणले मुख्य अभियुक्तलाई बचाउन मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाइएको आरोप लगाइरहेका छन् ।

 

निर्मलाको बलात्कारपछि हत्या भएको २५ औं दिनपछि प्रहरीले घटनाका अभियुक्तको रुपमा विष्टलाई सोमवार सार्वजनिक गरेको थियो । प्रहरीले उनलाई सोमवारै जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीको दाबी छ ।