कालीमाटीमा दुई मन्त्रीको नजर: होला त तरकारीमा सिन्डिकेट र बिचौलियाको अन्त्य

काठमाडौं, भदौ ६ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिचौलिया व्यापारीको सिन्डिकेट हटाउन अहिले दुई मन्त्रालयको सक्रियता देखिएको छ ।

 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले तरकारी र फलफूलको व्यापारमा देखिएका बिचौलिया निर्मूल पार्ने भन्दै लागिपरेका छन् । कृषिमन्त्री खनालले गत जेठमा कालीमाटी बजारको अनुगमन गर्नुभएको थियो भने उद्योगमन्त्री यादव सोमबार कालीमाटीमा व्यवसायीहरुले सरकारी अनुगमन टोलीलाई अवरोध गरेपछि स्थलगत निरीक्षण गर्न पहिलोपटक त्यहाँ जानुभएको हो ।

 

कृषि मन्त्रालयले कालीमाटीमा एक वर्षयता गरेको अध्ययनका आधारमा त्यहाँभित्रको ‘दुर्गन्धित बिचौलिया’ लाई कारबाही गर्ने गरी आन्तरिक अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले उत्पादन गरेको ठाउँदेखि कालीमाटीसम्म आइपुग्दा कति ठाउँमा बिचौलिया लाग्छन् र कति मूल्य बढाइन्छ भनेर अध्ययन अनुगमन गरिरहेको छ ।

 

उद्योग मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाबाहिरका केही जिल्लामा गई किसानले पाउने मूल्य, मुूल्य बढाउने बिचौलिया व्यापारीका विभिन्न तहको अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानलाई थप पुष्टि गर्न हिजो सोमबार विभागले कालीमाटी बजारमा अनुगमन गरेको हो ।

 

कालीमाटी बजार सञ्चालक समितिका अध्यक्ष तथा कृषि मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीका अनुसार कालीमाटीभित्रका ९८ वटा व्यापारीलाई कारबाही गर्ने गरी मन्त्रालयले प्रतिवेदन तयार पारेको छ । तर उक्त प्रतिवेदन व्यापारीकै दवाबका कारण सञ्चालक समितिबाट पारित हुन भने सकेको छैन ।

 

हामीले एक वर्षअघि तयार पारेको प्रतिवेदन समितिबाट पारित हुन नसकेपछि मन्त्रालय पठायौं । दोस्रो प्रतिवेदन पनि दुईपटक सञ्चालक समितिमा छलफलका लागि पठाइसकेका छौं । तर पारित भने हुन सकेको छैन’ –कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले भन्नुभयो ।

 

समितिले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कालीमाटीमा बिचौलिया व्यापारीले एउटै स्टलबाट २ लाख रुपियाँसम्म अतिरिक्त भाडा असुल्ने गरेको छन् भने एउटा स्टलमा ३ वटासम्म पसल सञ्चालन भइरहेका छन् ।नेपाल समाचारपत्रबाट