संगठन सुधारको लागी कडा निति ल्याउने तयारी,कमाण्ड सम्हाल्नुअघि मातहतको विफ्रिङ सुन्दै प्रधानसेनापति

   काठमाडौं भदाै ६।  यसअघिका प्रधानसेनापतिहरुले आफ्नो निश्चित कोटरी बनाई उनीहरुकै रायसुझावअनुसार समग्र कार्यलय तथा विभागहरुको नीति निर्धारण गर्ने गरेका थिए । तर कामु प्रधानसेनापति थापाले नयां कार्यको आरम्भ गर्दै आफ्नो नीति तयार पार्नुपूर्व आफ्नो टिमसहित सबै कार्यलयहरुमा गएर विफ्रीङ सुन्ने, सुझाव र अपेक्षाहरु नोट गर्ने तथा आफ्नो भिजन र आवश्यक निर्देशनहरु स्पष्ट रुपमा दिने गरेका छन् ।

 आगामी भाद्र २४ बाट नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले कमाण्ड सम्हाल्नुपूर्व नेपाली सेनाका सबै कार्यलय तथा विभागहरुको सम्बन्धित ठाउंमै गएर विफ्रीङ अध्ययन गर्न थालेका छन् । नेपाली सेनामा नै पहिलोपटक थापाले कमाण्ड सम्हाल्नुपूर्व सबै कार्यलय तथा विभागहरुको भ्रमण गरी रायसुझाव तथा समस्याहरु र अपेक्षाहरुका बारेमा जानकारी लिएका हुन् ।

नेपाली सेनामा अत्यन्तै अनुशासित, भद्र, अध्ययनशील र अनुभवी जर्नेलका रुपमा परिचित कामु सेनापति थापाको सुरुवाती कार्यशैलीले नेपाली सेनाका अधिकृतहरु उत्साहित बनेका छन् । उनी सहभागी भएका विफ्रीङहरुमासम्बन्धित कार्यलयका समस्याहरुका बारेमा खुलस्त रुपमा छलफल भएको सैनिक स्रोत बताउंछ ।

कामुमा नियुक्त भएलगत्तै अध्ययन थालेका थापाले हालसम्म महत्वपूर्ण कार्यलयहरु मानिएका स्वास्थ्य महानिर्देशनालय, कल्याणकारी निर्देशनालय, सम्भारको कार्यालय, प्रवन्ध कार्यालय, सैनिक जनसम्पर्क निर्देशनालय, प्राड विभाग, सैनिक हवाई उड्यन कार्यालय, मनोवैज्ञानिक कार्यालय, इन्जिनियर निर्देशनालय, प्रकृति संरक्षण निर्देशनालय, विकास निर्माण निर्देशनालय लगायतको विफ्रीङ अध्ययन गरिसकेका छन् । ती कार्यालयहरुले अब कसरी र कुन दिशामा काम गर्ने भन्नेबारेमा उनले स्पष्ट निर्देशन दिएको एक अधिकृतले जानकारी दिए ।

यसैगरि, कमाण्ड सम्हालेलगत्तै आफ्ना नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्नका लागि उनले सबै कार्यलयहरुको भावी योजना, सुझावहरु तथा आवश्यक निर्देशनहरुका बारेमा समेत योजना माग गरेका छन् । सबै कार्यालयबाट ती योजनाहरु प्राप्त भइसकेको र उनको टिमले त्यसको अध्ययन गरी भावी योजना तयार गरिरहेको बुझिएको छ ।

योजना पठाउनका लागि कामु प्रधान सेनापति थापा आफैले विभिन्न शीर्षकहरु सबै कार्यलयलाई पठाएका थिए । त्यसैका आधारमा सबै कार्यालयले योजना पेश गरेको सैनिक स्रोतको भनाइ छ । प्रधानसेनापति राजेन्द्र क्षत्री तीनवर्षे सेवाअवधिबाट आगामी भाद्र २४ गते अवकाश हुदैछन् ।

अवकाशको एक महिनापूर्व नै नियमित घरबिदामा बस्ने सैनिक परम्पराअनुसार नै क्षत्री श्रावण २४ गतेबाट घरबिदामा बसेका छन् । सोही दिनबाट नै लागू हुने गरी सरकारले रथी थापालाई प्रधान सेनापतिमा नियुक्त गरिसकेको छ ।

शान्ति सेनामा जाने सैनिकहरुबाट ठूलो मात्रामा रकम कल्याणकारीका लागि काटिने गरेकोमा त्यो घटाउने, उपचार सेवा प्रभावकारी बनाउने, जनताहरुसंगको सम्बन्धलाई नया शिराबाट सुरु गर्ने, आर्थिक छवीलाई पारदर्शी बनाउने, खरीद प्रणालीलाई पारदर्शी बनाउने, भर्ना तथा बढुवामा पक्षपात नगर्ने, मिडियामा गिर्दाे छवीलाई माथि उठाउने, अधिकृत बढुवामा लागू गरिएको फास्ट ट्रयाक प्रणाली सुधार गर्ने लगायतका चुनौतीहरु उनका सामू छन्

नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएका थापा धेरै पहिलाबाट नै नेपाली सेनाको भावी नेतृत्वका रुपमा हेरिएका सैनिक अधिकृत हुन् । नेपाली सेनामा उनको करियर ग्राफ र ट्रयाक रेकर्ड अत्यन्तै कूशल सैनिक अधिकृतका रुपमा रहेकाले पनि उनलाई भावी प्रधानसेनापतिका रुपमा हेरिएको थियो । उनीबाट आम सैनिकहरुले सुधारका धेरै अपेक्षा गरेका छन् ।