गृहमन्त्री थापा र जापानी राजदुतबीच शिष्टाचार भेट

 

काठमाडौ भदाै ६।गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

 

भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भईसकेको चर्चा गर्दै सुरक्षा निकाय लगायत अन्य क्षेत्रमा जापानले गर्दै आएको सहयोगप्रति राजदूत साईगो मार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

गृहमन्त्री थापाले नेपालको पूर्वाधार, उर्जा, पर्यटन, कृषी लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागि समेत राजदुतसँग आग्रह गर्नुभयो ।

 

उहाँले नेपालमा लगानी गर्ने अहिले उपयुक्त अवसर रहेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाईने प्रतिवद्धता व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठुलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्तगर्नुभयो ।

 

 

राजदुत साइगोले आफु गत जुन महिनामा मात्रै नेपालको राजदुतको रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी दिँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुत बनाउने बताउनुभयो । उहाँले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

राजदुत साइगोले आफुलाई कृषी क्षेत्रको समेत अनुभव रहेको भन्दै सो अनुभवको आधारमा नेपालको कृषी क्षेत्रको विकसका लागि समेत पहल गर्ने बताउनुभयो ।

 

जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदुतले बताउनुभयो । गृहमन्त्री थापाले राजदुत साईगोलाई कार्यकाल सफलताको लागि शुभकामना समेत दिनुभयो ।

 

 

नेपालमा बिभिन्न कामका लागि बसिरहेको तथा नेपाल भ्रमणमा आउने जापानीहरुको सुरक्षामा ध्यान दिन समेत उहाँले गृहमन्त्रीसँग आग्रह गर्नुभयो।