महेन्द्रनगरमा बुधबार पनि उग्र प्रर्दशन अपराधीलाई प्रहरीले उम्काउन खोज्याे

 

कञ्चनपुर भदाै ६। बुधबार बिहानैबाट प्रदर्शनमा उत्रिएका स्थानीयले महेन्द्रनगरमा टेलिकम कार्यालय नजिकै रहेको प्रहरी बिट जलाइदिएका छन् भने प्रहरीको बा १ झ ७३६५ नं को गाडी तोडफोड गरेका छन्।

 

 भिमदत्तनगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै महेन्द्रनगरमा (बुधबार) पनि नागरिकहरुले आन्दोलन चर्काएका छन् ।

 

प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएर उम्किन खोजेको उनीहरुको आरोप छ । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेरर प्रदर्शनकारीलाई तितरवितर बनाउने प्रयास गरेको छ । तर, स्वतःस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका नागरिकहरु ठूलो मात्रामा जम्मा भइरहेका छन् ।

 

तर, कञ्चनपुर प्रहरीले भने निर्मलाका हत्यारा दिलीप विष्ट नै भएको दाबी गरेको छ। सिआइबी, प्रादेशिक, जिल्ला र स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निर्मलाका हत्यारा विष्ट नै भएको खुलेको कञ्चनपुर प्रहरीको दाबी छ। प्रदर्शन र नाराबाजीले अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले प्रदर्शन रोक्न आग्रह गरेको छ। आफ्नै भिनाजुको हत्या गरेर जेल सजाय भुक्तान गरेका विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको प्रहरीको भनाई छ। कञ्चनपुर प्रहरीले विष्टलाई थप अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरेको छ।

 

आन्दोलनका कारण बजार व्यवसाय पूर्णरूपमा बन्द भएको छ । आन्दोलनमा उत्रिएका नागरिकहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका छन् । स्थानीय नागरिकहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए । पन्तले २६ दिनसम्म घटनास्थलमा लैजान आवश्यक नदेखेको प्रहरीले २६ दिनपछि प्रमाण पाएको भन्दै आफुलाई घटनास्थलमा लगेको बताए। उनले प्रश्न गरे, ‘छोरीको साइकल फालेको नजिकै एउटा कपडाको टुक्रा र कण्डम थियो। प्रहरीले यही हो प्रमाण भन्यो। तर त्यो २६ दिनसम्म पानीमा नभिजेर माटो पनि नलागेको अवस्थामा कसरी रहन सक्छ।