नेपाली सेनाको २३ करोड जोखिममा

 

काठमाडौं भदाै ७। कमसल वित्तीय संस्थामा राखेका कारण नेपाली सेनाको झण्डै २३ करोड रूपैयाँ डुब्ने जोखिममा परेको छ । सैनिक कल्याणकारी कोषमा रहेकोमध्ये २२ करोड ९७ लाख ६७ हजार रूपैयाँ फिर्ता नआएको हो ।

 

सो रकम शान्ति सेनामा भाग लिएबापत संयुक्त राष्ट्रसंघबाट शोधभर्ना प्राप्त भएको हो । सेनाको तत्कालीन नेतृत्वले चिनेजानेका आधारमा धेरै ब्याज आउने लोभमा कमसल वित्तीय संस्थामा कोषको रकम राखेको थियो ।

 

कल्याणकारी कोषको उक्त रकम उठाउन पहल भइरहेको सेनाले जनाएको छ । गत वर्ष पनि जोखिममा परेको रकम फिर्ता गर्ने बताइएको थियो । ‘ती वित्तीय संस्थाको अचल सम्पत्ति रोक्का भइसकेकाले जोखिममा परेको रकम उठाउने प्रयत्न भइरहेको छ’, बुधबार आयोजित पत्रकार सम्मेलनमा कोषका निर्देशक सहायक रथी रघु भण्डारीले भने ।

 

सेनाले क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडमा रहेको १७ करोड ९ लाख ९५ हजार, युनाइटेड विकास बैंकमा रहेको १ करोड ५१ लाख, सम्झना फाइनान्समा रहेको १ करोड ६९ लाख, नेपाल सेयर मार्केटमा रहेको २ करोड ५३ लाख र हिमालय फाइनान्समा रहेको १२ लाख जोखिमा परेको जनाएको छ ।

 

अन्य वित्तीय संस्थानको अचल सम्पत्ति रोक्का भए पनि युनाइटेड विकास बैंकमा रहेको १ करोड ५१ लाख रूपैयाँ उठाउन कठिन छ । नेपाल राष्ट्र बैंकले ती वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

 

कल्याणकारी कोषमा असार मसान्तसम्ममा ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार नगद जम्मा भएको छ । कोषले सञ्चालन गरेको विभिन्न परियोजनामा लगानी गरेको ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार समेतलाई जोड्दा कोषमा चल÷अचल ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रूपैयाँ सम्पत्ति छ ।

 

सेनाले कोषको प्रमुख आयस्रोतको रूपमा रहेको ब्याजबाट आर्थिक वर्ष ०७४र०७५ मा ४८ करोड रूपैयाँ व्याजकर सरकारलाई बुझाएको छ । बहालवाला–अवकाशप्राप्त सैनिक अधिकारी र तिनका आश्रित परिवारका लागि कोषबाट शिक्षा, स्वास्थ्य, स्वरोजगार, राहत, आवास सुविधा, लघुवित्त कर्जा, कल्याणकारी निवृत्तिभरणलगायत कार्यक्रम सेनाले सञ्चालन गर्दै आएको छ ।

 

कोषले सञ्चालन विद्यालय÷महाविद्यालय र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालले गैरसैनिक नागरिकलाई समेत सेवा दिँदै आएको छ । सैनिक कल्याणकारी कोषको रकमबाट सेनाले विभिन्न १४ वटा परियोजना सञ्चालन गर्दै आएको छ । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सैनिक कल्याणकारी कोषबाट सञ्चालित सबै परियोजना सेवामुखी रहेको दाबी गरे ।

 

सेनाले व्यापार गर्ने कि राष्ट्रिय सुरक्षाबारेमा सोच्ने भन्ने प्रश्नमा प्रवक्ता भण्डारीले भने, ‘कोषले सञ्चालन गरेको सबै परियोजना सेवामुखी हुन् । सेनाले नाफाका लागि कहींकतै लगानी गरेको छैन ।’ राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापतको करिब १ करोड २४ लाख १ हजार रूपैयाँ जम्मा गरी नेपाली सेनाले २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना गरेको थियो ।   आजको अन्नपूर्णपोष्टबाट ।