ओमप्रकाश मिश्र सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस

 

काठमाडौं, भदौ ७ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको छ।अघिल्लो साता परिषद्को बैठक सरकारले बोलाइए पनि स्थगित भएको थियो। विपक्षी दलको नेता शेरबहादुर देउवा विदेश उपचारका लागि जाँदा संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो।

 

बिहीबार बसेको परिषद्को बैठले मिश्रलाई सिफारिस गरेको हो। यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि नयाँ सिफारिसका लागि बैठक बसेको हो।

 

मिश्र २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका हुन्। मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन्। जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेसँगै उनी बिदामा बस्दै आएका थिए। त्यसपछि मिश्रले नै कायममुकायम रुपमा काम गर्दै आएका थिए।

 

प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान छ। अख्तियारका प्रमुख आयुक्तको विषयमा भने आजको संवैधानिक परिषद्को बैठकमा छलफल नभएको बताइएको छ।