ब्याज बढाएरै बैंक नाफामा

 

काठमाडौं भदाै ८।  सञ्चालनमा रहेकामध्ये २२ बैंकले गत वर्ष निक्षेप र कर्जाबीचको ब्याजअन्तर (स्प्रेड) बढाए । यो नै बैंकहरूको नाफा वृद्धिको प्रमुख कारण बन्यो । डेढ वर्षयता लगानीयोग्य पुँजीको अभाव भएको गुनासो गर्दै आएका बैंकको नाफा भने लोभलाग्दो छ ।

 

गएको वर्ष वाणिज्य बैंकहरूले खुद नाफा ५३ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरे । यो बैंकहरूको कुल आयबाट कुल खर्च र कर घटाएर आएको शुद्ध नाफा हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो नाफा करिब २३ प्रतिशतले बढेको छ । यो अर्थतन्त्रको औसत वृद्धिदरभन्दा धेरै बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ती बैंकहरूको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।

 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा वृद्धिको प्रमुख स्रोत ब्याज आम्दानी नै छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २२ वटा बैंकहरूको कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) बढेको छ । बाँकी बैंकहरूको स्प्रेड घटेको छ । यसको अर्थ व्यवसाय विस्तारका लागि नयाँ क्षेत्र पहिचानसहित ‘नवप्रवर्तन’ ल्याउनुको साटो ऋणको ब्याजदर वृद्धिमै बैंकहरूले ध्यान केन्द्रित गरे भन्ने हो ।

 

केही बैंकहरूको स्प्रेड राष्ट्र बैंकले तोकिदिएको अधिकतम ५ प्रतिशतभन्दा पनि बढी छ । प्रकाशित वित्तीय विवरणअनुसार २१ बैंकहरूको स्प्रेड ४ प्रतिशतभन्दा बढी छ । जसमध्ये चारवटा बैंकको स्प्रेड ५ प्रतिशत बढी छ ।

 

ती बैंकहरूको स्प्रेड राष्ट्र बैंकले दिएको अधिकतम सीमाभन्दा धेरै हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशतभन्दा बढी ब्याजअन्तर राख्न पाउँदैनन् । यो वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूले स्प्रेड साढे ४ प्रतिशतमा झारिसक्नुपर्ने नयाँ निर्देशन छ ।

 

बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको ब्याजअन्तर धेरै गराएकै कारण औसतभन्दा बढी वृद्धिदर हासिल भइरहेको पूर्वसचिव रामेश्वर खनालले बताए । मुलुकको आर्थिक विकासका लागि आवश्यक लगानी ९पुँजी० जुटाएर बैंकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याए पनि उपभोक्ताले व्यवयाय विस्तारको लाभ प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

 

‘बैंकहरूमा निक्षेपमा सकेसम्म कम ब्याज दिने र ऋणमा सकेसम्म बढी ब्याज उठाउने प्रवृत्ति हाबी छ,’ उनले भने, ‘यही कारण अर्थतन्त्रको औसत वृद्धिदर करिब १५ प्रतिशत हुँदा बैंकहरूको मुनाफा वृद्धिदर त्योभन्दा बढी छ ।’ यद्यपि मुलुकको आर्थिक वृद्धिमा धेरै योगदान पुर्‍याउने सेवा क्षेत्रहरूमा बैंकहरूको ठूलो लगानी केन्द्रित भएकाले त्यसले समग्र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको उनले दोहोर्‍याए ।

 

‘विद्यमान परिस्थितिको फाइदा उठाउँदै केही बैंकहरूले स्प्रेड धेरै बढाए,’ पूर्वबैंकर ससिन जोशीले भने, ‘तर, यसलाई सामान्यीकरण गर्न मिल्दैन ।’ उनको विचारमा वर्षको नाफा वृद्धिदर अस्वाभाविक होइन ।

 

रकमका आधारमा मात्र बैंकहरूको नाफा बढेको रूपमा हेर्न नहुने उनले बताए । ‘रकमका आधारमा अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको नाफा बढेको छ । तर, पुँजी वृद्धिको अनुपातमा निरन्तर रूपमा घटिरहेको छ,’ उनले भने, ‘अघिल्लो वर्ष १७ प्रतिशत रहेको बैंकहरूको सम्पत्तिको प्रतिफल गत वर्ष साढे १४ प्रतिशतमा झरेको छ ।’

 

गत वर्षमा २८ वटा बैंकहरूको चुक्ता पुँजी करिब ३४ अर्ब रुपैयाँले बढेर २ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको पुँजी १७।१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकहरूको चुक्ता पुँजी १ खर्ब ९८ अर्ब ८६ करोड रुपैयाँ थियो ।बैंकहरूको गत वर्षको खुद नाफा वृद्धिदर चुक्ता पुँजी वृद्धिदरभन्दा बढी हो । यसैगरी गएको वर्ष वाणिज्य बैंकहरूमा साढे ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरे ।

 

यो अघिल्लो वर्षको तुलनामा १६।७७ प्रतिशतको वृद्धि हो । सोही अवधिमा बैंकहरूले थप ३ खर्ब ७६ अर्ब रुपैयाँ लगानी विस्तार गरे । यो २१।६७ प्रतिशतको वृद्धि हो । यसबाट बैंकहरूले सम्पत्ति र दायित्वबीच सन्तुलन मिलाउन नसकेको स्पष्ट हुन्छ ।

 

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलनको तुलनामा कर्जा विस्तार दर उच्च रहेकाले वित्तीय क्षेत्र असन्तुलित अवस्थामा रहेको राष्ट्र बैंकले पनि स्वीकार गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा यस्तो उल्लेख छ ।आजको कान्तिपुर दैनिकमा छ।